कभर स्टोरी फोटो

राजधानी भन्ने कि लाजधानी ? (फाेटाेफिचर)

चन्द्र रार्इ

राजधानी भन्ने कि लाजधानी ? (फाेटाेफिचर)

काठमाडौं । राजधानी नआएका जो कोहीलाई मनमा कुतूहल हुन सक्छ काठमाडौं सहर त्यसमाथि नेपालको राजधानी कस्तो होला भनेर ? सम्पूर्ण मुलुककै नेतृत्व गर्न बसेकाहरूको सहर निकै सफा र सुन्दर छ होला भनेर कल्पना गर्नु पनि स्वाभाविक नै हो राजधानी नदेखेकाहरूलाई । तर त्यस्तो नसोच्नुहोस्, कल्पना गरिएजस्तो छैन, राजधानी सहर ।

 

देशको एकमात्र राजधानी काठमाडौं सहर सबैतिर अस्तव्यस्त छ । अनि घरबाट निस्केर सडकमा डुली साध्य छैन । विगतका वर्षहरूमा काठमाडौं धेरै सफा र सुन्दर थियो भन्ने अहिले मात्र सुनिन्छ ।

 

पहिलेको सफा सुसंस्कृत उपत्यका पछिल्लो समयमा अव्यवस्थित सहरीकरण र आम नेपालीको आकर्षणले गर्दा दिन प्रतिदिन कुरूप बन्दै गएको छ । छिनमा सडक निर्माण गरिन्छ भने त्यही सडकलाई फेरि भत्काइन्छ । यो काठमाडौंको स्थायी दिनचर्या हो । 


नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल टेलिकमलगायत निकायले सडक भत्काउँछ । त्यही भत्केको सडकमा हजारौं सवारीसाधन कुद्ने गर्छन् । र, राजधानी धुलो र तुवाँलोको बादलले छोपिने गर्छ ।

 

यही धुलाम्य सडकमा पुराना सवारीसाधन पनि कालो धुवाँ उडाउँदै कुदिरहेका हुन्छन् । राजधानी काठमाडौं अचेल धुलोमान्डु बनेको छ । धुलोसँगै प्रदूषण पनि बढेकै छ राजधानीमा । प्रदूषणको मापन पनि उच्च हुने गरेको छ । धुलोकै कारण बर्सेनि सयौंले ज्यान गुमाइसकेका छन् ।

 

वातावरणविद्हरू वायु प्रदूषणप्रति चिन्तित छन् । तर सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेका छन् । जसका कारण राजधानीलाई लाजधानी बनाइदिएका छन् । काठमाडौं सहर धुवाँधुलाको पर्यायवाची जस्तै भएको छ । दैनिक बढ्दो सहरीकरण, भूकम्पपछिको पुनर्निर्माण, सडक विस्तार तथा मेलम्ची खानेपानीको पाइपलाइन विस्तारजस्ता कार्य धुवाँधुलो उत्पादनका मुख्य स्रोत हुन् ।

 

तस्बिरमा देखिएको यो सडक त यस्तो लाग्छ असार महिना भर्खरै सुरु भई धान रोपाइँ गर्न मात्रै बाँकी छ भन्ने भाव दिन्छ । ‘काठमाडौंको चाबहिल–जोरपाटी सडकखण्डको दूरी पौने चार किलोमिटर मात्र हो । गाडी चढ्दा बढीमा २० मिनेट र हिँडेर पौने एक घन्टामा यात्रा सकिन्छ । 

 

यही सडकमा गुड्ने गाडीले उछिट्याएको हिलो र धुलोले आसपासका पसल, घर अनि यात्रुलाई समेत असर पुर्‍याउने गरेको छ । गाडीले उछिट्याएको हिलो र धुलो घन्टा–घन्टामा पुछिरहनुपर्छ  त्यस क्षेत्रका जनतालाई ।  यसरी सडकको दुरवस्थाका कारण व्यापार, व्यवसायमा समेत प्रभाव परेको छ ।  

 

चाबहिल–जोपाटी मुख्य सडक दयनीय भएका कारण सवारी आवागमन र हिँडडुल गर्नसमेत ठूलो समस्या उत्पन्न महिनौं पुगिसकेको छ । एम्बुलेन्ससमेत सहज रूपमा चल्न नसक्ने गरी सडक बिग्रिएको छ । चाबहिल, बौद्ध, नारायणटार, थली, ब्रम्हखेललगायत धेरै ठाउँमा ठूला खाल्डाखुल्डी परेका छन् ।

 

पानी परेको बेला सडक आवागमन नै बन्द हुन्छ । पानी परेको समयमा सडकमा बग्ने पानीको बहाव हेर्दा नदी जस्तै देखिन्छ ।  घन्टौंसम्म ट्राफिक जामसमेत हुने गरेको छ । विद्यार्थी समयमा स्कुल पुग्न सक्दैनन् । कर्मचारी समयमा कार्यालय जान सक्ने स्थिति छैन ।


दयनीय अवस्थामा रहेको चाबहिल–साँखु सडकखण्डको दुरवस्था तत्काल सुधार्नुपर्ने सांसद, स्थानीय प्रतिनिधि, नगरप्रमुख, वडाध्यक्ष रसरोकारवालाले बताउँदै अाएका छन् । तर पहल शून्य छ । हुन त राजधानीका प्रायः सडक यस्तै कुरूप भइसके तर अरूभन्दा डरलाग्दो यात्रा यही सडकमा छ । यो सडकमा बेलाबेलामा माटोले खाल्डाखुल्डी पुरेर मर्मत गर्नु जनतालाई भ्रममा पार्नु मात्रै हो । 

 

यी रोड र काठमाडौंका हर समस्या हेर्दा साँच्चै राजधानीले आफ्नो परिचय बदल्दै गएको छ । हामीले भन्दै, सुन्दै र कल्पना गर्दै आएको काठमाडौंको त्यो परिचय अब हाम्रो सामु छैन ।

 

हरेक नेपालीले कल्पना गरेको, मन्दिरहरूको सहर, कलाकृतिको सहर, पौरखीहरूको सहर, स्वच्छ, सफा अनि रमणीय सहरसँगै केही अघिसम्म सपनाको सहरको रूपमा परिचय बनाएको थियो राजधानी काठमाडौंले । आजभोलि त्यो परिचय मेटेर फरक पहिचान स्थापित गरेको छ, राजधानीले ।

 

 हिउँदेयाममा धुवाँधुलोको डरलाग्दो आतंक र बर्खायाममा सडकहरूको दुरवस्थाले काठमाडौं हो भन्ने कसले पत्याउन सक्छ ? 


 

राजधानी नेपाल विद्युत् प्राधिकरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड नेपाल टेलिकम सवारीसाधन धुवाँधुलो चाबहिल–जोपाटी सडक

विशेष