मुख्य समाचार

हिमाली क्षेत्रमा सम्बन्ध प्रगाढ गर्नु नेपाल-चीनको साझा लक्ष्यः सभामुख महरा

हिमाली क्षेत्रमा सम्बन्ध प्रगाढ गर्नु नेपाल-चीनको साझा लक्ष्यः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताएका छन् ।  

 

 

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्नुहुँदै सभामुख महराले ‘बिआरआइ’ले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौ अवसर सिर्जना गरेको बताएका हुन् । 

 

 

बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्न नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको उनको भनाइ थियो । ‘हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुबै देशमा व्यापार र व्यवसायका धेरै अवसर सिर्जना गर्नेछ’, उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यावसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य शृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।’ 

 

 

बिआरआइले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए ।

 

 

नेपाल लामो समयको राजनीतिक सङ्घर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय कार्यसूचि भएकोले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। 

 


तिब्बतमा भएको अभूतपूर्व आर्थिक विकास तथा सामाजिक सांस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उनले चीनले २ दशकमा सफलतापूर्वक सञ्चालन गरेको किङ्गहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताए ।  

 

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्ग सम्बन्धी समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, प्रसारण लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ‘ट्रान्स-हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्क’ले आर्थिक विकासका नयाँ पक्षलाई उकास्न सहयोग गर्ने उल्लेख गरे ।  

कृष्णबहादुर महरा सभामुख

विशेष