फुजेल घटनाका आरोपी छविलाल रिहा, स्वागतका लागि प्रचण्ड गएनन्
काठमाडौं । गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा मुछिएका छविलाल पौडेलले सफाइ पाएलगत्तै उनी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । जिल्ला अदालत, चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादी मध्ये १२ लाई सफाई दिने निर्णय गरेको थियो । ती १२ मा छविलाल पनि परे ।
फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् ।
डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ ।
रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक डिल्लीबजार कार्यालय पुगेका थिए । समर्थकले पञ्चेबाजासहित ¥याली निकालेका थिए ।
यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उनी भने उपस्थित भएनन् ।
रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’