मुख्य समाचार

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाद्वारा लुम्बिनी भ्रमण

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाद्वारा लुम्बिनी भ्रमण

बुटवल । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।  

 

भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका महत्वपूर्ण ऐतिहासिक वस्तुको अवलोकन गरे । 

 

राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष रवीन्द्र अधिकारी, प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश नं ५ का उद्योग, पर्यटनमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलगायत पदाधिकारीले स्वागत गरे । 

 

राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि पूजा तथा प्राथना गरे । त्यसलगत्तै लुम्बिनी विकास कोषले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति सिरिसेना सरिक भए । 

 

सो अवसरमा मन्त्री अधिकारीले लुम्बिनी विकास कोषका तर्फबाट उनलाई मायाको चिनो प्रदान गरेका थियो । यसलगत्तै राष्ट्रपति सिरिसेनाले लुम्बिनीको बिहारक्षेत्रस्थित श्रीलङ्कन गुम्बा पुगी अवकोलन एवं केही समय ध्यान समेत गरे । 

 

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट हरेक वर्ष हजारौं बुद्धमार्गी लुम्बिनी भ्रमणमा आउने गर्छन् । गतवर्ष श्रीलङ्काबाट २७ हजार जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

बिम्स्टेक मैत्रीपाला सिरिसेना

विशेष