मुख्य समाचार

५० वर्षपछि दलितलाई मन्दिरमा प्रवेश, पूजाअर्चना गर्न पाएपछि खुसी

५० वर्षपछि दलितलाई मन्दिरमा प्रवेश, पूजाअर्चना गर्न पाएपछि खुसी

बारा । जिल्लाको सिम्रौनगढ नगरपालिका-७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् । दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरुले त्यहाँस्थित शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् ।

 

वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न दिएका थिएनन् । सोमबार भएको छलफलमा दुबै पक्षबीच सहमति भएपछि झवानीका दलित समुदायले मंगलबार मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गरेको युवा विद्यार्थी सङ्घर्ष समिति सिम्रौनगढका अध्यक्ष उमेश कुशवाहाले बताए । 

 

 

सिम्रौनगढ नगरपालिका–७ का वडाध्यक्ष रमेश कुर्मीको संयोजकत्वमा गठित समितिको बैठकले दलित समुदायलाई मन्दिरमा पूजापाठ निर्बाधरुपमा गर्न दिइनेलगायतका पाँच बुँदे निर्णय गरेपछि उनीहरुलाई मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न सहज भएको हो । 

 

 

बैठकमा मन्दिरमा पुजारी व्यवस्थापन गर्ने, दुवैतर्फबाट फोहर गालीगलौज गर्न नपाउने, आजैका मितिदेखि छुवाछूत तथा भेदभाव अन्त्य गर्ने तथा चर्पी निर्माण गर्ने सहमति भएको समितिका संयोजक कुर्मीले जानकारी दिए । 

 

 

सो समितिका सदस्यमा अवधेश सहनी, रामकिसुन महतो, रामबाबु राम, विनोद राम, राजन दुबे, सोहान राम, नन्दु राम र अमित सिंहलगायत रहेका छन् । वर्षौंपछि गाउँको शिवमहादेव मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि आफूहरु खुशी भएको वडा नं ७ का वडा सदस्य सरस्वती रामले बताईन् ।

 

 

राष्ट्रियसभाका सांसद रामप्रीत पासवान, नेपाल दलितसङ्घका केन्द्रीय सदस्य धर्मेन्द्र पासवान, दलित अभियन्ता रामविनय पासवान, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, प्रदेश सदस्य सिकेन्द्र पासवान, प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौर, प्रहरी निरीक्षक खगेन्द्र धमला, सशस्त्र प्रहरी निरीक्षक, युवा विद्यार्थी सङ्र्घष समितिका संयोजक उमेश कुसवाहा, मधेशी दलित गैरसरकारी संस्था रौतहटका अध्यक्ष उदयनारायण राम, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रौतहटका अध्यक्ष सुखाडी बैठा, रौतहटका दलित अगुवा अनुप माझी, दलित एकीकृत विकास नेपालका नन्दकिशोर पासवान, दलित अधिकार मञ्च रौतहटका अध्यक्ष सबिन्द्र राम, युवा विद्यार्थी सङ्घर्ष समितिका सन्नी गुप्ता, पूर्वगाविस अमृतगञ्जका अध्यक्ष गगनदेव कुशवाहा, झवानीका दलित स्थानीयवासी नन्दू राम, विनोद राम, सरस्वतीदेवी राम लगायतका व्यक्तिको पहलमा समस्या समाधान गर्न दबाब सृजना भएपछि उनीहरुले मन्दिरमा प्रवेश गरेर पुजाअर्चना गर्न पाएका हुन् । 

 

 

यसैबीच निर्बाधरुपमा मन्दिरमा प्रवेश गरेर पुजाअर्चना गर्न दिएकोमा दलित समुदायका अगुवाले सम्बन्धीत सबैमा धन्यवाद तथा अभार प्रकट गरेको छ । रासस

बारा सिम्रौनगढ नगरपालिका दलितलाई मन्दिरमा प्रवेश

विशेष