प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च फर्किए, तर पेशी पाएनन्
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशका लागि अस्विकृत भएका दीपकराज जोशी सर्वोच्च अदालत फर्किएका छन् । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेपछि उनलाई स्वागत गर्दै जोशी सर्वोच्च फर्किएका हुन् ।
तर, नियमित कामकाज गर्ने गरि फर्किएका जोशीले पेशी भने पाएनन् । मंगलबार ३१८ वटा पेशी तोकिएकोमा जोशीको भागमा एउटा इजलास पनि नपरेको हो । प्रधानन्यायाधीश मिश्रले पेशी नतोके पछि जोशी अलमलमा परेका छन् । स्रोतका अनुसार उनलाई तत्कालै पेशी नदिने मनस्थितीमा मिश्र छन् ।
शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए । जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको बताएका थिए । जोशीले मिश्र र आफू सहकर्मी भएकाले कार्यसम्पादमा कुनै समस्या नपर्ने बताएका थिए । तर, मिश्रले इजलास नदिए पछि उनी अलमलमा परेको स्रोतले जनाएको छ ।