मुख्य समाचार

तीन लाख भक्तजनले पशुपतिको दर्शन गरे

तीन लाख भक्तजनले पशुपतिको दर्शन गरे

काठमाडौं । पशुपतिनाथ मन्दिरमा तीजको उपलक्ष्यमा करिब तीन लाख श्रद्धालु भक्तजनहरूले दर्शन एवं पूजाआजा गरेका छन् ।

 

पशुपतिका चारै ढोका बिहान तीन बजेदेखि नै खोली भक्तजनहरू प्रवेशको व्यवस्था मिलाइएकोे थियो । लाइन व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्गमा सवारी अवरुद्ध भएको थिएन । 


महिलाहरूले पशुपति क्षेत्रमा तीजका गीत गाएर नाचगान गरेका थिए । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा बिहानैदेखि भीड लागेको थियो । पशुपतिको अतिरिक्त उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो थियो ।

 

तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले बुधबार नै हरितालिकाको पूजा लगाउँछन भने पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ । विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चलिआएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ । 

पशुपतिनाथ मन्दिरमा तीज

विशेष