खेल मुख्य समाचार

आज माल्दिभ्ससँग भिड्दै : इतिहास रच्ने दाउमा नेपाल

आज माल्दिभ्ससँग भिड्दै : इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन । सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन ।

 

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल यस पटक फेरि सेमिफाइनलमा पुगेको छ । च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

 

कठिन मानिएको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणमा आफूलाई अब्बल सावित गरिसकेको छ । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलको हार खेपेको थियो । नेपाल दोस्रो खेलमा भुटानलाई ४-० गोलले हराएर खेलमा फर्किएको थियो । समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २-० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

 

यसैगरी माल्दिभ्स समूह ‘बी’ को उपविजेतको रूपमा सेमिफाइनलमा पुगेको हो । तीन टोली सम्मिलित समूहमा माल्दिभ्सले श्रीलंकालाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा माल्दिभ्स भारतसँग २-० गोलले पराजित भएको थियो । माल्दिभ्स श्रीलंकाको समान एकएक भएपछि माल्दिभ्सले ‘लक्की ड्र’ मा श्रीलंकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । बुधबार नै हुने अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।

 

सेमिफाइनलमा माल्दिभ्सलाई हराउन सके नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ । नेपालका लागि फाइनलमा पुग्नु नै उपलब्धि त छँदैछ । यस पटक भारतले यूृ-२३ टोलीलाई साफ खेलाएकोले फाइनलमा नेपालको पल्ला भारी हुने छनकसमेत देखिएको छ ।

 

साफ च्याम्पियनसिपको सफल टोली भारत अहिले एसिया कप खेल्ने तयारीमा रहेकोले साफमा युवा खेलाडी पठाएको छ । त्यसैले पनि नेपाली फुटबल टोलीका लागि अहिले ऐतिहासिक उपलब्धि हात पार्ने अवसर छ ।

 

नेपालका लागि माल्दिभ्ससँगको खेल धेरै महत्वपूर्ण छ । फिफा वरीयता र यसअघिको तथ्यांकमा माल्दिभ्स नेपालभन्दा बलियो छ । वरीयतामा माल्दिभ्स एक सय ५०औं स्थानमा छ भने, नेपाल एक सय ६१औं स्थानमा छ । नेपालले माल्दिभ्ससँग सन् १९९९ को साफ च्याम्पियनसिपदेखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो ।

 

हालसम्म दुई टोलीबीच ६ पटक भिडन्त भएको छ । जसमा माल्दिभ्सले चार जित हात पारेको छ । दुई खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लो पटक भारतमा सम्पन्न २०११ को साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएका थिए ।

साफ च्याम्पियनसिप फुटबल बंगलादेश

विशेष