मुख्य समाचार

भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपा प्रतिबद्ध छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपा प्रतिबद्ध छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकका लागि जनसङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ यात्रामा अघि बढ्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।  

 

 

नेकपाका केन्द्रीय सदस्य एवं अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ (अखिल ज्ञान भाग–२) को बिहीबार विमोचन गर्दै उनले भ्रष्टाचरमुक्त समाज निर्माण, सुशासन, तीव्र गतिमा देशको अर्थिक विकास गरी समाजवादको आधार निर्माण गर्न नेकपा प्रतिबद्ध रहेको बताए । 

 

 

समृद्ध समाज निर्माणको महाअभियान सम्पन्न गर्ने सङ्कल्पका साथ वर्तमान सरकार अघि बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले दिन प्रतिदिन समाजमा बढ्दै गएका विकृति र विसङ्गतिका घटना सरकारका विरुद्ध नियोजित रुपमा आउन लागेको त होइन भन्ने प्रश्न सिर्जना भएको बताए । 

 

 

आदर्श समाज निर्माण गर्ने प्रवृत्ति कमजोर हुँदै समाजमा अराजक र अत्यन्त विचलित मनोविज्ञान देखिएको चित्रण गर्दै उनले भने, ‘समाज विस्तारै निराशा र अराजकतातर्फ जान खोजेको होइन ? समाजको मूल्य मान्यता र आदर्श स्खलित हुन खोजेको भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।’ 

 

 

अध्यक्ष दाहालले समाजवादको महान् यात्रामा अघि बढ्ने सम्भावना र आधारहरु मजबुद हुदाहुँदै पनि अमानवीय घटना दिन प्रतिदिन बढ्दै जाँदा नेपाली समाज ठूलो अन्तरविरोधमा रहेको देखिएको बताउँदै समाजका विकृति विसङ्गितका विरुद्धमा लड्न युवा लाग्नुपर्नेमा जोड दिए ।

 


दशवर्षे जनयुद्धको उत्कर्षको बलमा संसदीय पार्टीसँगको सहकार्यमा परिवर्तनलाई साकार रुप दिन तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामार्फत समकालीन दुनियाका क्रान्तिकारी आन्दोलनबाट पाठ सिक्दै अधिकतम राजनीतिक उपलब्धी संस्थागत गर्न बाह्रबुँदे सम्झौता गरिएको उनले बताए । 

 

 

माओवादी शान्ति प्रक्रियामा आएसँगै मुलधारका कम्युनिष्ट पार्टीसँग एकताका लागि पटकपटक छलफल गर्दै आएको जानकारी दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्ने जनताको भावना समेट्न नेतृत्व सक्षम भएकाले पार्टी एकता सम्भव भएको बताए ।

 

 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेपालको कम्युनिष्ट आन्दोलन मौलिक रुपमा अघि बढेको उल्लेख गर्दै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धीको रक्षा, प्रयोग र सम्बद्र्धनमा सरकार लागि परेको बताए । उनले कम्युनिष्ट आन्दोलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्भर्दलाई समेटिएको उक्त पुस्तकले समाज परिवर्तनका लागि अगाडि बढ्ने युवा पुस्तालाई निकै उपयोगी हुने बताए । 

 

 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायत उपलब्धीलाई संस्थागत गर्न सत्तापक्ष र प्रतिपक्ष नभनी सहकार्यमार्फत अघि बढ्नुपर्ने बताए ।

 

 

लेखक न्यौपानेले आधारभूत तहमा काम गर्ने पार्टी कार्यकर्ता, विद्यार्थी, युवा र मजदुर वर्गलाई लक्षित गरेर पुस्तक तयार गरिएको बताए । राजनीतिमा लाग्ने पछिल्लो पुस्तालाई सङ्घर्षका बारेमा पढाउने उद्देश्य राखिएको पुस्तकले गुणात्मक राजनीतिक कार्यकर्ता उत्पादनमा मात्रात्मक योगदान गर्ने उनले बताए । 

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड नेकपा

विशेष