मुख्य समाचार

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गरेका छन् । 

 

 

काठमाडौंमा आयोजित कार्यक्रमा जोशीले उनलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उनको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गरे । 

 

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका वामपन्थी नेता तुलाधरले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउन दशकौँसम्म सङ्घर्ष गरेका थिए ।

 

 

नेवारी परम्पराअनुसार ७७ वर्ष सात महीना ७ दिन ७ घण्टा ७ पलामा गरिने एक महीना लामो ज्याः जँक्वो तुलाधरको अभिनन्दनसँग सम्पन्न भएको छ । सो अवसरमा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवा भएर जन्मिनु नै ठूलो सौभाग्य भएको बताउँदै अरू कुनै जातिमा नभएको ७७ वर्ष ७ महीना ७ दिन ७ घण्टा तथा ७ पलामा गरिने भीमरथारोहणको संस्कृति नेवार जातिमा मात्र रहेको बताए ।

 

 

जोशीले ७७ वर्ष पुगेको व्यक्ति भीमसेन जस्तै बलियो हुने विश्वास नेवारी समुदायमा रहेकाले यसलाई भीमरथारोहण भनिएको बताए । उनले काललाई नै जितेर ७७ वर्ष पार गर्ने व्यक्तिलाई कालजयी भन्ने गरिएको उल्लेख गरे । 

 

 

जोशीले शान्ति प्रक्रियाका पक्षपाती पद्मरत्न तुलाधरले नेपाल संवत्, भाषा आन्दोलन, मानव अधिकारको क्षेत्र तथा नेपालमा भएको १० वर्ष लामो द्वन्द्वको समयमा शान्तिदूत भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए । 

 

 

मानव अधिकारवादीसमेत रहेका वामपन्थी नेता तुलाधरले लामो सङ्घर्षपछि देशमा सङ्घीयता स्थापित भए पनि नेपाली जनताले चाहेको सङ्घीयता अझै नआएको बताउँदै जनताको आन्दोलन जारी रहेको बताए । उनले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङका लागि आन्दोलन हुने बताउँदै यहाँको मुख्यमन्त्रीमा तामाङ वा नेवार हुनुपर्ने धारणा व्यक्त गरे ।

 

 

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक एवं वरिष्ठ पत्रकार मल्ल के. सुन्दरले पद्मरत्न तुलाधर व्यक्ति नभई जनताको शक्ति भएको बताए । पद्मरत्न तुलाधर नेतृत्वको २०३६ सालमा शुरु भएको नेपाल भाषा आन्दोलन बनेपा, पाल्पा, वीरगञ्ज, विराटनगर, दार्जिलिङ, सिक्किमसम्म विस्तार भएको उनले बताए ।

 

 

पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्न तुलाधरको महत्वपूर्ण योगदान रहेको बताए

 

 

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले लेख्नुभएको ओपेरा तथा नेपाल भाषाका वरिष्ठ साहित्यकार भुषणप्रसाद श्रेष्ठले लखेको अभिनन्दन गीत प्रस्तुत गरिएको थियो । यसअघि शनिबार बिहान तुलाधरको निवासलाजिम्पाटबाट एक शुभकामना र्यालीले नगर परिक्रमा गरिएको थियो । -रासस
 

पद्मरत्न तुलाधर सत्यमोहन जोशी वाङ्गमय शताब्दी पुरुष

विशेष