ब्रह्मचारी जति सबै कुमार हुन्छन् भन्ने भ्रमबाट मुक्त होऔं (भिडियाेसहित)
काठमाडौं । संसारमा तनाव नभएका मानिस सायदै होलान् । ‘मान्छेलाई यहाँ कस्तो तनाव भइरहेको छ’ भन्नेहरू धेरै भेटिन्छन् । एक अनुसन्धानअनुसार, सामान्य मानिसको मस्तिष्कले एक दिनमा करिव ६० हजार वटा कुरा सोच्दछ । त्यसमध्ये पनि ९५ प्रतिशत तिनै सोच हुन्छन् जुन अघिल्लो दिन सोचिएको हुन्छ ।
विगतको सम्झना र भविष्यको चिन्ताले नै मानिसलाई बढी तनाव दिने गरेको पनि विभिन्न अनुसन्धानले देखाएको छ । तनावलाई क्षणिक रूपमा होइन दीर्घकालीन रूपमा सामाधान गर्ने सूत्र जान्न अत्यावश्यक भएको डा. योगी विकासानन्द बताउँछन् । नेपाल आजसँगको अन्तर्वार्तामा योगीले मानसिक समस्या, तनाव व्यवस्थापन र समाजमा भइरहेका बलात्कारलगायत विषयका बारेमा अन्तरंग कुराकानी गरेका छन् ।
योगी भन्छन्, ‘तनावबाट तुरुन्तै बाहिर निस्कन खोज्दा अर्को तनावमा फसिन्छ । तनावबाट कसरी बाहिर आउने भन्ने प्रश्न नै गलत हो । तनावबाट बाहिर आउने होइन, तनावलाई बुझ्ने हो ।’ भनाइलाई चोटिलो र बुझ्ने शैलीमा व्याख्या गर्दै उनले भने, ‘अज्ञानताको कारणले नै तनाव सिर्जना हुन्छ । उदाहरणको लागि पहिलो पटक काठमाडौं आएको व्यक्ति काठमाडौंमा पक्कै हराउन सक्छ । तर, वर्षौंदेखि बस्दै आएको व्यक्ति सजिलै हराउँदैन् । काठमाडौं जस्तै हो तनाव पनि ।’
तनाव व्यवस्थापनको तरिका योगीकै शब्दमा
तनाव, गरिबी, समस्या र पीडाबाट बाहिर आउने होइन । सर्वप्रथम तनाव के हो भनेर बुझ्ने हो । तनाव सिर्जना हुने मुख्य कारण नै अज्ञानता हो । ज्ञानभन्दा पवित्र र ठूलो चिज संसारमा केही छैन भनेर शास्त्रमै भनिएको छ । ज्ञान भनेको व्यक्तिगत प्रयासको परिणाम हो । तर, शिक्षा र ज्ञान एउटै होइनन् । शिक्षा अरूले दिने चिज हो । ज्ञान आफैँभित्र खोज्ने हो । यो खोज्ने वातावरण भने शिक्षकले बनाइदिने हो । ज्ञान भएको ठाउँमा समस्या र तनाव हुँदैन ।
यो संसार नै स्वंयको मनको या चेतनाको विस्तार हो । हामीले प्यारो श्रीमान्, छोराछोरी या परिवार खोज्नु पर्दैन । हामीले त प्यारो ‘म’ खोज्ने हो । आफ्नो मन शान्त भएपछि सबै कुरा सहज बन्दै जान्छ । संसार खत्तम होइन आफू र आफ्नो सोच खत्तम हो । मानिसको चेतनामा जे घट्छ बाहिर पनि त्यही प्रतिबिम्बित हुन्छ । यो कुरा बुुझेन भने युगौं युग समस्या तन्किन्छ । जबसम्म मानिसको मनमा घाउ हुन्छ त्यसले कसैलाई खुसी दिन सक्दैन ।
दुःख के हो ? यसबाट कसरी टाढा हुने ?
दुःख भनेको हिजोको कुरा सम्झेर र भोलि के होला भन्ने डरले नै आउने हो । उदाहरणका लागि राम्रो फिल्म हेर्दा मज्जा आउँछ भन्ने हुँदैन । जब फिल्म हेर्न गइन्छ, राम्रो भनिएको फिल्ममा हाम्रो ध्यान ट्याक्कै अडिन्छ, त्यतिबेला हामी विगतमा जादैनौँ, भविष्यमा पनि जादैनौँ, त्यो आनन्द हाम्रो आफ्नै आनन्द हो, फिल्मले दिएको होइन ।
खुसी के हो ?
दुःखजस्तै खुसी भनेको पनि भावना हो । खुसी हुँदा दिमागबाट एक प्रकारको तत्व निस्कन्छ । त्यही तत्व खुलेर र दिमागमा भएका विभिन्न हर्मोन्स, न्युुरोट्रान्समिटरहरू खुल्यो भने खुसी हुने हो । कसैले गरेर खुसी या दुःखी हुने होइन । दिमागमा हुुने केमिकलले गर्दा नै हुने हो । यसले गर्दा खुसी या दुःखी भन्नु केवल बाहना मात्र हो ।
खुसी या दुःखको केमिकललाई के कुराले निर्देशन दिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । यसलाई मूलभूत रूपमा बुझाइले प्रभाव पार्छ । विशेषगरी सकारात्मक र नकारात्मक बुझाइले मस्तिष्कका ती तत्वलाई उजागर गराउने काम गर्छन् ।
रिस के हो ? कसरी शान्त पार्ने
रिस उठ्दा रिस के हो बुुझ्नुपर्छ । रिस कम गर्न बुझाइ चाहिन्छ । टिप्स होइन । टिप्सले दीर्घकालीन रूपमा समस्या हल गर्दैन । रिसबाट तत्काल बाहिर आउने तरिका भनेकै स्वाशलाई स्लो डाउन गर्ने ।
यस्तोे छ रिसको दीर्घकालीन उपचार
रिस भनेको बलियो नकारात्मक बुझाइ हो । यो बुझाइले नै रिसलाई निम्त्याउँछ । उदाहरणको लागि, हिन्दुलाई गाई खाने भन्दा रिस आउँछ, मुसलमानलाई सुंगुर खाने भन्दा । किनभने यो खायो भने पाप लाग्छ भने उनीहरूको आफ्नो आफ्नै बुझाइ छ । त्यसकारण जबसम्म आफ्नो बुझाइलाई बुुझ्न सकिँदैन् तबसम्म रिस साम्य पार्न सकिँदैन् ।
योगी विकासानन्दले समाजका हरेक पक्षबारेमा आफ्नो फरक मत दिँदै आएका छन् । नेपाली समाजमा बढ्दै गएको बलात्कारको घटनाबारे पनि उनले केही गहन धारणा व्यक्त गरेका छन् । बलात्कारीका बारेमा विभिन्न नारा र विरोध भइरहँदा उनले भने यो सम्पूर्ण घटनालाई फरक दृष्टिकोणले हेरेका छन् ।
बलात्कारबारे योगीको धारणा उनकै शब्दमा
हामीले बलात्कारलाई हेर्ने सामाजिक दृष्टिकोणमा ठूलो खराबी छ । यदि कसैमाथि छुरा प्रहार भयो भने छुरा प्रहारबाट घाइतेसँग विवाह नगर्ने सर्त कसैले राख्दैन । किनभने ऊ छुरा प्रहारबाट पीडित भएको व्यक्ति हो । यसो भन्दैमा उसको विवाह नहुने भन्ने हुँदैन । तर बलात्कारमा परेका बालिका, महिला, किशोरीको मामिलालाई ‘सेन्सटिभ’ बनाइन्छ । धेरैले नबुझेको कुरा के हो भने बलात्कारमा पर्नेहरू पीडित हुन् । उनीहरूका लागि त्यो एक दुःखद घटना हो । बलात्कारमा परेकाहरू सम्बन्धित अपराधमा जोडिएका तर निर्दोष व्यक्तिहरू हुन् ।
त्यो एउटा दुर्घटना हो । तर यसलाई ठूलो बनाएको त्यही पुरुष प्रधान समाजले हो । जुन समाजमा बलात्कृत भएकी महिलालाई विवाह गर्न हिच्किचाइन्छ । वास्तवमा बलात्कार गर्ने भन्दा पनि बलात्कृत महिलालाई समाजमा टिक्न नदिने यस यसलाई ठूलो ‘इस्यु’ बनाउनेहरू महाअपराधी हुन् । वास्तवमा बलात्कारीभन्दा पनि खतरनाक त हाम्रो समाज छ । त्यसकारण बलात्कारीलाई दिइने सजाय समाजलाई पनि दिनुपर्छ ।
यसकारण हुन्छ बलात्कार
एकप्रकारका बलात्कारीहरूले जेनेटिकल कोडमा क्रिमिनलको जिन बोकेर ल्याएका हुन्छन् । जसकारण पनि यो घटना हुन्छ । त्यस्तैगरी त्यो मानसिक विकृति पनि हो । तर सबैले मानसिक विकृतिमा बलात्कार गर्दैनन् । कसैले बदलाको भावनाले गर्छन् । यो अर्को पाटो हो । नेपालजस्तो देशमा बढी मात्रामा ‘सेक्सुअल्ली एक्सपोज’ हुन नपाएर बलात्कार भएको हो ।
अमेरिकामा ‘सेक्सुअल्ली एक्सपोज’ भएर पनि बदलाको भावनाले बलात्कार गर्छ । हाम्रो समाजले केटाकेटी दुवैलाई यौनको लागि खुल्ला वातावरण दिएन ।
त्यसकारण मेरो विचारमा वेश्यावृत्तिलाई राज्यले नै कानुनी मान्यता दिनुपर्छ । अर्काे कुरा, चीन, जापानबाट उत्पादन भइरहेका ‘सेक्स टोयज’ हरूलाई व्यापक रूपमा समाजमा छर्नुपर्छ । वेश्यावृत्तिलाई कानुनी मान्यतता दिँदा कमसे कम यौन कुण्ठाको कारण बलात्कार गर्न जाँदैनन् । तर पनि समाजको हेराई वेश्यालयमा जाने मान्छेहरूप्रति नराम्रो भयो भने बलात्कारका घटना कम हुन्छन् भन्ने सकिँदैन् । त्यसकारण यसलाई समाजीकरण होइन सामान्यीकरण गर्नुप¥यो । ट्वाइलेज जानु र वेश्यावृत्तिमा जानु एउटै हो भन्ने धारणा भयो भने मात्र स्थिति सामान्य हुन्छ ।
नेपाली समाजमा यो कुरा सामान्यीकरण हुन धेरै समय लाग्न सक्छ । तर, एउटा कुरा भने तत्काल गर्न सकिन्छ । स्कुुलमा बलात्कार भन्ने छुट्टै विषय बनाएर पढाउनुपर्छ । पाठ्यक्रममा बलात्कार र यौनशिक्षाबारे अनिवार्य रूपमा पढाउनुपर्छ ।
बलात्कार गरिरहँदा त्यसो गर्नेलाई आनन्द आएको हुँदैन
यौन सम्बन्धमा केटा र केटीको सहमत हुनुुर्पयो । माया प्रेम भएपछि उनीहरूका यौनांग परिवर्तन हुन्छ । महिलाको योनांगबाट ‘लिक्विड’ बग्नुपर्छ र पुरुषमा पनि त्यही हुनुपर्छ । त्यो ‘लुब्रिकेन्ट’ भएपछिमात्र आनन्दको अनुभूति हुने हो । जब कि, डराएकोे बेलामा लुब्रिकेन्ट हुँदैन, लुब्रिकेन्ट नभएपछि त्यहाँ ‘ग्रिज’ हुँदैन । यो भएन भने कसैलाई आनन्द आउँदैन ।
बलात्कारमा महिलालाई त पीडा भयो सबैले बुझ्छौं । त्यो केटालाई चाहिँ आनन्द भएको होइन । त्यसलाई पनि महा पीडा भएको हुन्छ । यो सबैै विवाह गरेका पुरुषलाई थाहा छ । आफ्नै श्रीमतीसँग सहवास गर्दा त श्रीमती तयार नहुँदासम्म केटालाई कति पीडा हुन्छ ।
तर कतिले त्यहाँ प्वाल छ भन्दैमा यौन सम्बन्ध हुन्छ भन्ने बुझ्छन् । यो बुझाइ एकदम घटिया बुझाइ हो । प्वाल हैन ‘लुुब्रिकेसन’ यौन सम्बन्ध राम्रो हुने हो । त्योभन्दा पनि व्यक्तिको मानसिकताले हुने हो । जबरजस्ती यौन सम्बन्ध राख्दा महिलामात्र होइन पुरुषलाई पनि पीडा हुन्छ । नभए जेलमा गएर अन्तर्वार्ता गर्नुस् त, आनन्द आइरहेको छ भनेर । त्यो बलात्कारीहरूको पनि पीडा छ ।
साधु सन्तहरू यौनबाट टाढा हुन सक्छन् ?
योेगमा यस्ता पनि साधना छन्, जुन साधना गर्र्दै गएपछि मान्छेको तन र मनमा परिवर्तन आउँछ । यदि योगीले ब्रह्मचर्य बस्ने हो भने साधना गर्दा गर्दै उसले आफूलाई तताउँछन् । भित्रबाट तात्तिएर त्यो तल जानुपर्ने यौन शक्ति माथि आउँछ । त्यो फेरिएर भएर स्पाइनल कर्डबाट माथि आउँदै दिमागमा जान्छ । त्यो शक्ति जुन शक्ति यौनमा गयो भने बच्चा जन्मिन्छ, त्यो माथि आयो भने दिमागले नयाँ डाइमेन्सन खोल्छ । त्यो भनेको जीवनको सबै आयामहरू खुल्ने हो । त्यस्ता योगीहरूलाई सहवासको आवश्यकता पर्दैन ।
तर सबै योगीको त्यो हुँदैन । सबै योगीले त्यो गर्र्दैनन् पनि । तर बाहिरबाट देखाउँदा भक्तहरूले उनीहरूको खुुट्टा ढोग्छन् । यसले उनीहरूलाई ठूलो फाइदा पुगेको हुन्छ । बुद्धले महल छोडेर जंगल पसे । यहाँ त साधु भएर ठूला ठूला महल ठड्याउँछन् । यस्तो सुविधा भएपछि किन छोड्नु ? यहाँ त स्वार्थ छ ।
याैन बलात्कार सेक्स खुसी डा.योगी विकासानन्द रिस दुःख