मुख्य समाचार

अब निलम्बित प्रहरीमाथि नै छानबिन हुने, डीआईजीको नेतृत्वमा समिति गठन

निर्मला हत्या काण्ड

अब निलम्बित प्रहरीमाथि नै छानबिन हुने, डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ । 

 

 

डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका लागि सिफारिस भएका थिए । टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना छन् ।

 

 

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार  पुरानै टोलीको दायरा फराकिलो पारिएको र यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ । यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । 

 

 

गृह मन्त्रालयले अनुसन्धानमा संग्लन ५ जना प्रहरी अधिकृतलाई शनिबारमात्रै निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताइन्छ । नयाँ टोलीले अनुसन्धानमा संलग्न निलम्बनमा परेका र अन्य प्रहरीलाई काठमाडौं झिकाएर बयान लिने र भूमिकाबारे अध्ययन सुरु गरिएको प्रवक्ता थापाले बताए ।

 

 

 निर्मला बलात्कार र हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि प्रहरी अधिकारीको भूमिका शंकास्पद बनेको थियो । नक्कली अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

 

 

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बन गरेको हो । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट भने यसअघि नै निलम्बनमा परिसकेका थिए । 
 

निर्मला पन्त छानबिन धिरु बस्न्यात

विशेष