मुख्य समाचार

गाउँपालिकाद्वारा मदिरा पिउने लाइसेन्स वितरण

गाउँपालिकाद्वारा मदिरा पिउने लाइसेन्स वितरण

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाले मदिरा खानेलाई लाइसेन्स बाँड्न थालेको छ । गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड-२०७५’ बाँड्न थालेको हो ।

 


गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन हनुसार साउनदेखि मदिरा पिउन कार्ड बाँड्न थालेको छ । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएका छन् ।

 

 

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवन कार्ड लिन बाषिर्क पाँच सय रुपैयाँ बुझाउनुपर्छ । यो कार्ड भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । 

 

 

एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन् । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

 

 

मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । ‘हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ’ रोकायाले भने ।

 

 

गाउँपालिकाले भने पसलको स्टक र लाइन्सेन्सधारी ग्राहकको संख्याका आधारमा तोकिए अनुसार १८० मिलिलिटर वा त्यसभन्दा बढी मदिरा खाएको अनुगमन गर्ने गरिएको उनले बताए ।

 

 

कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक २ हजार र दोस्रो पटक ७ हजार जरिवाना तोकिएको छ । मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाको दाबी छ ।

 

 

‘रक्सी खाएर झगडा गर्दा थुप्रैको ज्यान गएको छ, अहिले पनि मुद्दा मामिला झेल्दै आएका छन्’ उनले भने, ‘गाउँपालिकाले कार्ड सिस्टम लागू गरेपछि गाउँगाउँका महिलाहरु खुसी भएका छन् । कार्यान्वयनमा सहयोग गर्छौ भनेर हामीलाई भनेका छन् ।’

बाजुरा गौमुल गाउँपालिका लाइसेन्स वितरण

विशेष