‘छोरीलाई सानैदेखि बलात्कारीको कुन अंगमा हिर्काउने भन्ने तालिम दिनु जरुरी छ’
काठमाडौं । पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढ्दै गएको देखिन्छ । नेपालभरको तथ्यांक हेर्दा १६ वर्षभन्दा कम उमेरका पीडितको संख्या ठूलो रहे पनि १० वर्ष मुनिदेखि ५० वर्षमाथि उमेरका समेत पीडित रहेका देखिन्छ । यसरी घटना सार्वजनिक भइरहँदा सरकार र सम्बन्धित निकाय भने केही मौन देखिन्छन् ।
सबैभन्दा बढी कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणले नेपाली जनमानसलाई झस्काएको छ । यही कुरालाई दृष्टिगत गर्दै देशभरीका सामुदायिक रेडियोको नेटवर्क सिआइएनले १०० दिने बलात्कार विरुद्धको सञ्चार अभियान सञ्चालन गरेको छ ।
यसै विषयमा विभिन्न मिडियाहरूमा १७ वर्षे लामो अनुभव सम्हालेका सिआइएनका प्रमुख दीपक आचार्यसँग सिआइएनको अभियान र बलात्कार न्यूनीकरण गर्न दिइनुपर्ने शिक्षाका बारेमा नेपाल आजले कुराकानी:
पछिल्लो समय देशमा अत्यन्त अत्याचारपूर्ण अवस्था देखापरेको हुँदा एउटा अभियानले केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भनेर देशभरीका सामुदायिक रेडियोको सहयोगमा सिआइएन १०० दिने अभियानमा लागेको सिआइएन प्रमुख दीपक आचार्य बताउँछन् ।
सञ्चारमाध्यमको भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण हुने हुँदा १०० दिनभित्र कसरी भूमिका खेल्दा महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न सकिन्छ, यसबारे सिआइएनले मार्गचित्र गर्ने आचार्यको भनाइ छ ।
मानिस पछिल्लो समय जुनसुकै धर्मको आस्थाबाट बाहिरिन थालेकाले यस्ता घटना लक्षित भएको तर्क आचार्यको छ ।
यदि मान्छे धर्महीन हुन्छ भने ऊ पशुसरह हुन्छ, पशुले गर्ने व्यवहार र उसले गर्ने व्यवहार फरक नहुने भएकाले मानिस कुनै न कुनै धार्मिक आस्थामा बाँधिनुपर्ने उनी बताउँछन् । अहिले टड्कारो बालबालिकालाई सानैदेखि दिने शिक्षा र व्यवहार भएको उनको तर्क छ । एउटा छोरीलाई स्कुल तहदेखि नै बलात्कार तथा हिंसात्मक घटनाबाट कसरी जोगिने भन्ने शिक्षा र तालिम र छोरालाई पनि मानिसको लक्ष्य र नैतिक शिक्षाको आवश्यकता रहेको उनी औंल्याउँछन् ।
सञ्चारमाध्यमले बलात्कार तथा महिला हिंसाका घटनालाई बढाउन र न्यूनीकरण गर्न भूमिका खेल्ने हुँदा सकारात्मक सन्देश मात्र प्रवाह गर्नुपर्ने उनको सुझाव छ । नेपालमा घटनाका दोषीलाई राजनीतिक रङ दिने, अपराधीलाई देश सञ्चालनमा मौका दिने गर्नाले हरेक घटनाले बढावा पाएको उनको बुझाइ छ ।
उनका अनुसार आफ्नै पार्टीको मान्छे भएपनि कारबाहीको दायरामा ल्याउँदा मात्रै पनि धेरै प्रतिशत न्यून हुन्छन् । समाजमा यौनक्रियाकलाप, हत्या गर्नेजस्ता अपराधीहरू राजनीतिक संरक्षणमा कुलतमा फस्दै गएको उनको बुझाइ छ ।