माग्ने बुढालाई धुरुक्कै रुवाएका बल्छी ध्रुवे (भिडियाेसहित)
नाम बल्छी ध्रुवे, माछा कहिले पर्ने हाेला बल्छीमा ?
काठमाडौं । नेपालीमा एउटा उखान नै छ, ‘जुन गोरुको सिङ छैन उसको नाम तीखे ।’ मेरी बास्सै हाँस्य टेलिशृंखलाबाट चर्चा कमाएका बल्छी ध्रुबेलाई यो उखान ठ्याक्कै मिल्छ । उनले जीवनमा आजसम्म पनि माछा मारेका छैनन् तर उनकै नाम बल्छी ! वास्तविक जीवनमा न उनलाई माछा मार्न आयो न उनले सिके नै । तर बल्छी ध्रुबेको नामले चर्चाको शिखरमा पुगेका मरिचमान श्रेष्ठलाई पछिल्लो समय उनको वास्तविक नामले कमैले मात्र चिन्छन् । कलाकारिताको सुरुवाती दिनहरूमा उनले धेरै संघर्ष गरे । अहिले उनी मेरी बास्सैको कथा लेखक भइसकेका छन् ।
मरिचमान भन्छन् ‘स्क्रिप्ट लेख्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो । पछिल्लो समय फिल्म हिरो हिरोइनको कारणले चल्छ भन्ने मान्यता पनि छ । तर यो कुरामा म सहमत छैन । फिल्म कुनै हिरो या हिरोइनको कारणले चल्ने होइन फिल्म चल्नलाई त्यसमा गुदी हुनुपर्छ र त्यो गुदी भनेको स्क्रिप्ट हो ।’
गोर्खा जिल्लामा जन्मेका मरिचमानले मेरी बास्सैमा उटपट्याङ काम गर्ने गरिब गाउँले केटाको भूमिका निर्वाह गर्दै आएका छन् । उनको भूमिका र वास्तविक जीवनले पनि ठ्याक्कै मेल खाने रहेछ । खासमा श्रेष्ठको बाल्यकाल पनि उटपट्याङ काम गरेर नै बित्यो । घरमा काम धेरै हुन्थ्यो । विशेष गरेर उनको काम बाख्रा चराउने, बाख्रालाई घाँस काट्ने हुन्थ्यो । उनले घरको काममा अलि ठगी गर्थे । घाँस काट्न जान मन नलागेको समयमा उनी हँसिया लुकाउँथे । यतिसम्म कि, कहिलेकाहीँ त आफैँ लुकेर पनि काम गर्न बाट भाग्थे उनी ।
सानो हुँदा बल्छीले चोरी गरेका घटना पनि रमाइला छन् । उनको गाउँमा बत्तीको पैसा बल्छीका बुबाले उठाउँथे । उठेको पैसा बुबाले बल्छीकी आमालाई राख्न दिन्थे । आमाले सिरानमुनि राखेको पैसा चोर्थे उनी । त्यहाँबाट दस, बीस, सय, दुुई सय रुपैयाँ चोरेकै कारणले उनका बुबाआमाबीच झगडा पनि हुन्थ्यो । पछि बुबाआमाले पैसा चोरेको पत्ता लागेपछि मार कुटाइ खाए बल्छीले । अहिले मेरी बास्सैको स्क्रिप्ट लेख्ने काममा ती बाल्यकालको भोगाइले धेरै सघाउ पुगेको छ उनलाई ।
तिनै किस्साहरूलाई जोडेर उनले अहिले आफ्नो बाल्यकाललाई मेरी बास्सैको स्क्रिप्ट लेखनमा उतार्ने प्रयास पनि गर्छन् । स्क्रिप्ट लेख्दा आफ्नै गाउँ समाजका भोगाइ, समाजमा हुने घट्ना, गाउँलेले भोग्नु परेको सास्तीलाई विषयवस्तु बनाउने भएकाले आफ्नो अधिकांश भोगाइहरू स्क्रिप्टमा घुसेको उनी बताउँछन् । मरिचमानले आफ्नो कलाकारिताको जन्मदाता केदार घिमिरेलाई मान्छन् । उनी भन्छन्, ‘जसले आफूलाई यहाँसम्म ल्याउनु भयो उहाँहरूले नै अहिले मेरी बास्सै छोडेर गएदेखि मेरी बास्सै एउटा बाबुआमाबिनाको घर जस्तै भएको छ । अहिले हामीले जसोतसो काम चलाए तापनि उहाँहरूको अभाव खट्किरहेको छ । दर्शकहरूले पनि अझै सीताराम दाइ र केदार दाइलाई मेरी बास्सैमा देख्न चाहनु हुन्छ ।’
‘मेरी बास्सै’ मा काम गर्नलाई उनलाई त्यत्ति सजिलो थिएन । सुरुवाती दिनमा उनले मेरी बास्सैमा आउनलाई केदार घिमिरेसँग मरिहत्ते नै गरेका थिए । केदार घिमिरेलाई धुरुक्कै रुवाएपछि उनले मेरी बास्सैमा काम गर्ने मौका पाए । उनले मेरी बास्सैमा काम गरेको लामो समय पछि उनले बल्छी ध्रुबेको भूमिका पाए । जसलाई दर्शकहरूले अहिलेसम्म मन पराइदिएका छन् ।
उनी शास्त्रीय संगीतका विद्यार्थी पनि हुन् । उनी दर्शकलाई हसाउनेमात्र होइन मीठो गीत पनि गाउँछन् । संगीतमा रुचि भए पनि व्यस्तताका कारणले उनले संगीतमा भने त्यति साधना गर्न सकेका छैनन् । तर पनि उनी कालाकारिताको साथै संगीतलाई पनि अगाडि लैजाने सोचमा छन् ।
उनले गीतबाट राम्रो प्रतिक्रिया पाएका छन् । दर्शकहरूले उनलाई तिमीले स्टेजबाट मान्छेलाई हसाउने मात्र होइन त्यति नै मीठो गीत पनि गाउन सक्ने रहेछु भन्ने गर्छन् । त्यसलाई पनि निरन्तरता देउ भन्ने गर्छन् । दर्शकहरूकोे त्यो मायाले गर्दा उनलाई अझ नयाँ ऊर्जा मिलेको उनी बताउँछन् र सांगीतिक क्षेत्रमापनि केही गर्न सक्छु भन्ने साहस गरेका छन् ।
बल्छी ध्रुबे मरिचमान श्रेष्ठ