मुख्य समाचार

दुई दिनसम्म लोकतन्त्र मेला आयोजना हुने

दुई दिनसम्म लोकतन्त्र मेला आयोजना हुने

काठमाडौं । संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।

 

 

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । 

 

 

‘समावेशी लोकतन्त्रः समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवर्धन गर्ने विश्वास गरिएको छ ।

 

 

 

मेलालाई सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका चारै दलले सहकार्य गरेका छन् । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् । 

 

 

मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिए ।

 

 

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्नेछन् ।

 

 

मेलाका अवसरमा समावेशी लोकतन्त्रः राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्नेछन् ।

 

 

पत्रकार सम्मेलनमा सभापति गुरुङले संविधानका विशेषतालाई जनताका माझ पुर्‍याउन मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

संविधान लोकतन्त्र मेला

विशेष