खेल

महिला च्याम्पियनसिपः बुधबार नेपालले फिलिपिन्ससँग भिड्दै

महिला च्याम्पियनसिपः बुधबार नेपालले फिलिपिन्ससँग भिड्दै

काठमाडौं । एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले बलियो टोली फिलिपिन्सको सामना गर्दैछ । 

 

आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु-१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह ‘इ’ का खेलमा नेपालले विजय लक्ष्यका साथ बुधबार फिलिपिन्सको सामना गर्दैछ । 

 

 

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । 

 

 

नेपाली टोलीकी मुख्य प्रशिक्षक गङ्गा गुरुङले उक्त प्रतियोगिताको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् । 

 

 

उनले अघिल्लो चरण प्रवेशको लागि पनि फिलिपिन्सविरुद्धको खेल महत्वपूर्ण हुने भन्दै नतिजा आफनो पक्षमा पार्न सक्दो प्रयास गर्ने बताइन्। नेपाली टोलीकी कप्तान प्रिती राईले आफूहरु मानसिकरुपमा तयार रहेको बताइन् । 

 

 

फिलिपिन्सका प्रशिक्षक मारिऐ बेनिटेजले आफ्नो टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने आशामा रहेको बताइन् । 

 

 

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । 

फिलिपिन्स नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिप

विशेष