नेपालका को प्रधानमन्त्री कस्ता ? (भिडियाेसहित)
काठमाडौं । भीमसेन थापादेखि केपी ओलीसम्म आइपुग्दा नेपालमा धेरैजना प्रधानमन्त्री भए । ती मध्ये केही प्रधानमन्त्रीहरु विशिष्ट छाप छाड्न सफल भए । धेरैले त फोटो झुण्ड्याउन मात्रैका लागि भए । प्रा. डा. सुरेन्द्र केसीलाई यसपटक हामीले सोधेका छौं तपाईको नजरमा को प्रधानमन्त्री कस्ता थिए ? उनले दिएको जवाफको सार निम्नानुसार छन्ः
‘प्रधानमन्त्रीहरुको चर्चा गर्दा भीमसेन थापा नै एक महत्वपूर्ण पात्र हुन् । उनी नेपालको प्रथम प्रधानमन्त्री मात्र नभएर उनको शासनकालमा महत्वपूर्ण घटनाहरु पनि हुन पुगे । सुगौली सन्धि भएर नेपालको आकार साँघुरियो । अंग्रेजसँगको युद्ध पनि भीमसेन थापाकै पालामा भएको थियो । युद्धपछाडि शुन्यताको स्थिति आयो । असमान सुगौली सन्धि भएर हामीले एकतिहाई जमिन गुमाउनु परेको थियो । त्यस्तो अवस्थामा नेपाललाई जर्जरताबाट बचाउन आवश्यक थियो । त्यो काम भीमसेन थापाले गरे ।
भीमसेन एक चिन्तन र पद्धतिका प्रधानमन्त्री हुन् भने जंगबहादुर राणा अर्को चिन्तन र पद्धतिका प्रधानमन्त्री हुन् । भीमसेनले युद्ध झेलेर मर्नबाट नेपाल देशलाई जोगाए । उनको शासनकालपछि नेपाल चरम अस्थिरतामा फस्यो ।
पाँच पाँच महिनामा बदलिन थाल्यो । अहिलेको जस्तै स्थिति त्यो बेला पनि थियो । त्यो अस्थिरताको क्लाइमेक्स नै कोतपर्व थियो । कोतमा जंगबहादुरले तीन दर्जनजति भाइभारदारको रगतको खोलो बगाए । मुला काटे झै काटेर सके । त्यसपछि अर्को कालखण्डको सुरुवात भयो ।
कोही पनि प्रधानमन्त्री कालगतिले मारिँदैनन् भन्ने सोच राखिन्थ्यो । सबैजसो षडयन्त्रबाट काटिन्थे, मारिन्थे । नेपालको दरबारले नै आफ्ना प्रधानमन्त्रीलाई बोलाएर षडयन्त्रपूर्व मारिदिने काम गथ्र्यो ।
कोतपर्व नियोजित थियो । भारदारको हत्या गरेपछि त्यो घटनालाई आफूअनुकुल ढाल्न जंगबहादुर सफल भए । अनि उनको शासनकाल सुरु भयो । राजनीतिक अस्थिरताको भने उनले अन्त्य गरिदिए ।
जंगबहादुरको पालामा भारतमा पहिलोपटक स्वतन्त्रताको लागि विद्रोह भयो । अंग्रेजहरुलाई त्यस्तो विद्रोह दबाउन हम्मे हम्म पर्यो । जंगबहादुर आफै सेना लिएर गएर भारतीयहरुको स्वतन्त्रताको विद्रोह कुल्चेर आए ।
१०४ वर्षमा राणाहरुले देश जति लुटे, त्यो भन्दा बढी उनीहरुले दिए । उनीहरुले वा भनौ जंगबहादुरले दिएको भनेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला हो ।
कोतपर्वपछि भारदारहरुबीच चल्ने काटमार अन्त्य भयो । एक भारदारले गरेको गल्तिको सजाए उसकी पत्नीलाई पनि दिने गरिन्थ्यो । भीमसेन थापाकी पत्नीलाई नांगै घुमाइएको थियो । त्यो तहको हर्कत पनि हुने गथ्र्यो नेपालमा । नेपालको दरबारका लागि यस्ता कुरा ठूला होइनन् ।
भीमसेन थापाको जात खोसियो । परिवारका सदस्यहरुमा अत्याचार गरियो । भीमसेनका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भइसकेपछि उनले आफ्नो परिवारमाथिको आरोप खारेज, जात फिर्ता नगरेसम्म सपथ लिन्न भने । अनि मात्रै भीमसेनको परिवारमाथिको बन्देज हटेको थियो ।
राणा शासनमा जंगबहादुरले नै समाज सुधारका केही काम गरे । चन्द्र शमशेरले सतीप्रथा अन्त्य गरे । त्यो बेला पतिको मृत्युपछि पत्नी आफ्ना लागि खतरा हुन्छ भन्ने लाग्यो भने शासकहरुले १५ दिन पछि पनि पत्नीलाई लगेर चितामा जलाउँथे । अहिले जमाना फेरियो । नारीले त्यसरी चितामा जल्नु पर्दैन । तर दाइजो नल्याएको भने जल्नु पर्छ । भारतको बेश्यालयमा बेचिनु पर्छ । चार वर्षकी बालिकालाई चार जना नागा मिलेर बलात्कार गर्छन् । त्यो सब हामीले हेरिरहनु परेको छ ।
पति मरेपछि पत्नीलाई मृत पतिसँगै जिउँदै सुताइन्थ्यो । माथिबाट बलिया मुढाहरुले थिचेर भाग्न नसक्ने बनाइन्थ्यो । तलबाट आगो सल्काइन्थ्यो । अनि आगो सल्काएपछि सतीहरु चिच्याउन थाल्थे । त्यो चिच्याएको सुन्न हुँदैन भनेर बाजागाजा बजाइन्थ्यो । चित्कारले मलामीको मन पग्लेला भनेर बाजा बजाएर त्यो चित्कार छोप्ने गरिन्थ्यो ।
त्यतिले पनि नपुगेर लाठोले हिर्काएर मुर्छित बनाएर जलाएर मारिन्थ्यो । त्यो हदसम्मको महिला हिंसा थियो । यस्तो हिंसा चन्द्र शमशेरले हटाए ।
अर्को दासप्रथा पनि थियो । मान्छेलाई दाम्लोले बाँधेर बजारमा लगेर बेचिन्थ्यो । त्यो प्रथालाई पनि चन्द्र शमशेरले अन्त्य गरे ।
कलकारखाना र उद्योगको मामिलामा जुद्ध शमशेरले सुधार गरे । निरिह रणेद्दिप थिए उनी मारिए । सुधारवादी देव शमशेर थिए उनी गलहत्याइए । पद्म शमशेरले पनि निष्कासित भएर जानु पर्यो । सरल र इमानी राणा प्रधानमन्त्रीहरुको यस्तो हालत भयो । अहिले पनि कोही मानिस सोझो र असल छ भने उसैलाई भ्रष्टाचारको आरोप लाग्छ । बेइमानीको आरोप लाग्छ ।
राणाहरुलाई जहानीया शासन लागू गरेको भनेर मान्छेले आलोचना गर्छन् । तर परिवारवाद त हाम्रै नेताहरुले पनि लागू गरेका छन् । कोइरालाहरुले त आफ्ना परिवारबाहेकलाई त कतै स्थान नै दिँदैन थिए । प्रचण्डले नै आफ्ना परिवारका मान्छेलाई कसरी स्थान दिए सबै स्पष्ट छ ।
डाक्टरी नपढेको डा. केआई सिंह
डा. केआई सिंह सैनिक पृष्ठभूमिका हठी कांग्रेसी थिए । उनी कुनै विषयको पनि डाक्टर थिएनन् । बिरामीहरुलाई जडिबुटी, औषधिहरु जानेअनुसार बाँड्ने गर्थे । त्यसैबाट उनलाई मान्छेहरुले डाक्टर भन्न थाले । कांग्रेसले सशस्त्र आन्दोलन गरिरहेको बेला राजा त्रिभुवन र भारतबीच दिल्लीमा सम्झौता भयो । यता आन्दोलन गरिरहेका डा. केआई सिंहलाई थाहा पनि थिएन । कांग्रेससँग कुनै सल्लाह पनि भएन । भैरहवा क्षेत्रमा उनी क्रान्ति गरिरहेका थिए । माथिल्लो तहमा भएको कुरा तल्लो तहमा फरक तरिकाले फैलियो । केआई सिंहले धोका भएको ठाने र क्रान्ति नरोक्ने उद्घोष गरे । नेपाली सेनाले उनलाई पक्रन सकेन । भारतीय सेनाले समातेर सिंहदरबारमा ल्याएर थुनिदियो ।
त्यसपछि केआइ सिंह विद्रोह भयो । त्यो विद्रोहमा राजा महेन्द्रले सहयोग गरेर, जेल विद्रोह गराएर उनलाई तिब्बत तिर पठाइदिएको भन्ने छ । त्यसपछि पाँच वर्षपछि चीन बसे । राजा महेन्द्रकै निगाहमा प्रधानमन्त्री बनाईए ।
विपीपछि हैसियत भएका प्रधानमन्त्री प्रचण्ड नै हुन् । तर उनले राम्रो कार्यसम्पादन गर्न सकेनन् । लोकेन्द्रबहादुर चन्द भनेका भूमिगत गिरोहका लाचार छायाँ हुन् । नगेन्द्रप्रसाद रिजालभन्दा पनि निरिह व्यक्ति हुन् । तै पनि चार पटक प्रधानमन्त्री भए । यो देशमा त निरिह, असक्षम, बेकारका मान्छेलाई प्रधानमन्त्री बनाइदिने त चलन छ नी । त्यही भइरहेको छ अहिलेसम्म । बाबुराम भट्टराई आफैले संविधान लेख्न आफै क्रियाशील भए । संविधानसभाभित्र बसेर संविधान जारी पनि गरे । बाहिर आएर संविधान अधुरो छ भने । यति भएपछि हामी आफैं बुझौं न ।
पढेलेखेका प्रधानमन्त्री भइसकेकाको त यस्तो अवस्था छ भने बाँकीको के होला ?
कृष्णप्रसाद भट्टराईको कमिकमजोरी थियो । तर उनका केही मूल्य मान्यता थिए । आस्था परम्परामा चल्ने दृढ निश्चयी व्यक्ति हुन् । गिरिजाप्रसाद कोइराला राजनीतिलाई शक्तिलागि दुरुपयोग गर्ने भष्मासुर शैलीका उपभोक्तावादी व्यक्ति थिए । उनी राजनीतिककर्मी हुन् राजनीतिज्ञ भएनन् ।
नेपालको राजनीति तहसनहस पार्ने व्यक्ति हुन् । नेपालमा लोकतन्त्र ल्याउने कुरामा उनको भूमिका छ ।
माधवकुमार नेपाल टेक्नोक्रयाट हुन् । इन्टायर्ली खराब होइनन् । सुशील कोइराला पनि खराब होइनन् । कोइरालाको त निधन पनि प्राकृतिक होइन भन्ने छ । कृत्रिम तरिकाले उनको निधन भयो भन्ने छ । तर यो कुरा मैले बाहिर चर्चामा आएको आधारमा भनेको हुँ । राजा मर्दा त कुत्ता मरेजस्तो भयो, एउटा फिस्टो प्रधानमन्त्री मर्दा के हुन्छ र ?
४६ सालयता मलाई कोही प्रधानमन्त्री मन परेन ।
मरिचमान निष्ठावान प्रधानमन्त्री थिए । उनी राजभक्त थिए । तर सूर्यबहादुर थापा भने राजालाई दूरुपयोग गर्ने बेइमान प्रधानमन्त्री थिए । विपीलाई फाँसी दिनु पर्छ भन्ने प्रस्ताव गर्ने सूर्यबहादुर नै हुन् ।