मुख्य समाचार

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध- उपराष्ट्रपति पुन

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध- उपराष्ट्रपति पुन

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । 

 

 

चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए । 

 

 

चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको बताए ।

 

 

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआर्इ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

 

 

उपराष्ट्रपति पुनले चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गरे । 

 

 

चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको स्वागत गर्दै उनले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुशी व्यक्त गरे । 

 

 

बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो । 

 

 

काठमाडौं र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनले बताए। 

 

 

उपराष्ट्रपति पुनले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गरे। 

 

 

उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट अाएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गरे ।

नन्दबहादुर पुन नेपाल एक चीन नीति

विशेष