मुख्य समाचार

अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

 

 

समितिको बिहीबारको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

 

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । उनले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिए । 

 

 


वि.सं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हालि रहेका घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए । 

 

 

उनले भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र तोकिएको समयमा काम नगर्ने प्रवृत्तिविरुद्ध पनि दृढताका साथ उभिने विश्वास दिलाए । उनले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताए । 

 

 

बैठकमा सांसदले ‘प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के के छन्’ भनेर प्रश्न गरेका थिए । सांसदको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गरे ।
 

नवीनकुमार घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष