‘ऋषि धमला पत्नी’ को ट्यागले एलिजा गौतम हैरान
काठमाडौं । छोरा एरिकको त्यो मन रुवाउने फोन कल एलिजा गौतमको दिमागमा अझै ताजा छ । त्यो रात एलिजालाई पक्कै सजिलो भएन । फिल्म ‘अनुराग’ को सुटिङको क्रममा फिल्म युनिटले धेरै समय पोखरामा बितायो । छोरी एरिका साढे तीन वर्षकी र छोरा एरिक एक वर्ष । घरमा नातिनातिनाको जिम्मेवारी लिएर बसेकी एलीजाकी आमाले फोनमा सानो छोराको आवाज सुनाइन् । लरबराउँदो आवाजमा ‘मामु आउनु न’ भन्ने बोली सुन्नेवित्तिकै एलिजा भक्कानिइन् । आमाको मन त हो । साना लालाबालालाई छोडेर काम गर्दा काम गर्ने मजदुर होस् या कुनै धनाढ्य नै, त्यो पल पक्कै पनि शब्दमा वर्णन गर्न गाह्रो छ । छोराछोरीको माया सबैलाई हुन्छ । मात्र माया गर्ने तरिका फरक ।
फिल्म सुटिङको क्रममा उनी त्यसरी छोराछोरी छोडेर पहिलोपटक बाहिर गएकी थिइन् । फोनमा छोराको आवाज सुन्दा आमाको ममताले भक्कानिएर एलिजाको गह भरिन्थ्यो । तर, काम त काम नै हो । के गर्न सकिन्छ र ? भावनालाई साइड लगाएर उनी काममै केन्द्रित हुन्थिन् ।
हुन त एलिजालाई सानैदेखि पढाइमा भन्दा पनि नाच्न र गाउनमा बढी सोख थियो । पढाइमा भने उनले कहिल्यै त्यत्ति राम्रो अंक ल्याउन सकिनन् । घरमा उनले जितेका पुरस्कार र मेडलहरू अनगिन्ती छन्, तर त्यसमा पढाइको तर्फबाट पाएको भने एउटै छैनन् । सबै नाचगानको मात्र हुन् । भविष्यमा के बन्ने भन्ने पूर्णरूपमा आकार कोरिसकेकी थिइनन् उनले । तर, एउटा कुरा चाहिँ उनको दिमागमा बसेको थियो, ‘हिरोइन बन्छु’ । कसरी बन्ने भन्नेबारे केही भेउ भने थिएन ।
कल्पनाको सागरमा डुब्दा मानिसको मस्तिष्कले शीतलता प्राप्त गर्छ । कति रमाइला लाग्छन् सपनाका रंगीन दुनियाँहरू । तर, विपनामा आउन नपाई कति सपनाहरू अनायासै बिलाउँछन् । कति सपनालाई त विपनाको वास्तविकतासँग तुलना गर्दा एकछिन अघिको सपनासँग आफैंलाई लाज लागेर आउँथ्यो एलिजालाई ।
वास्तविक जीवनमाा पनि ठीक त्यस्तै भयो । रंगीचंगी सपना देख्ने एलिजाकाे मनलाई घरको वातावरण र बाबुआमाको व्यवहारले काँच्चै खाइदिन्थ्यो । इलाममा उनका बुबाआमाले विद्यालय स्थापना गरेका थिए ‘सनराइज बोर्डिङ स्कुल’ । तर, एलिजालाई भने जन्मनेबित्तिकै काठमाडौं नै ल्याइएको थियो । बुबाआमा दुवै शैक्षिक क्षेत्रमा हुँदा उनलाई पढाइको बढी करकाप थियो । केटा साथी बनाउनसमेत डर लाग्ने परिवारमा ‘हिरोइन बन्छु’ भनेर भन्नु भनेको आफ्नै खुट्टामा वञ्चरो हान्नुजस्तै लाग्थ्यो एलिजालाई । बुबाआमाले भनेको कुरा जे पनि मानिहाल्ने छवि भएको कारण पनि उनले आफ्ना रंगीन सपनाबारे बुबाआमालाई भन्ने आँट गर्न सकिनन् । तर सपना देख्न पनि छोडिनन् उनले ।
एसएलसीको पढाइ सकियो । फुर्सदको त्यही समय एक चियापान कार्यक्रममा उनकी आमाले एलिजालाई पनि सँगै लिएर गइन् । एलिजालाई थाहा थिएन त्यो भेटले उनकोे जीवन नै परिवर्र्तन हुँदै छ भनेर । आज त्यो दिन स्मरण गर्दा उनी आफैंलाई अचम्म लाग्छ । अक्सर जिन्दगीमा केही सामान्य घटनाले पनि जीवनलाई पूर्णरूपमा मोडिदिन्छन् । सोही कार्यक्रममा एलिजाको जीवनमा पनि त्यस्तै भयो । आमाले उनलाई पत्रकार ऋषि धमलासँग भेट गराइदिइन् । सायद एलिजाको विवाहको कुरा मिलाउन नै तयार गरिएको भेट थियो त्यो । त्यो भेटको एक हप्तामै उनको पत्रकार धमलासँग इन्गेजमेन्ट भयो ।
केही पारिवारिक समस्याका कारण बीचमा विवाह हुन अलि समय लाग्यो । तर जेहोस् उनले एसएलसी दिनेबित्तिकै त्यो १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्योे समय बुबाआमाले गरेकोे निर्णयलाई आफूले नाइनास्ती गर्न नसकेको बताउँछन् उनी । ‘बाबुआमाले आफ्ना छोराछोरीको लागि कहिल्यै गलत निर्णय गर्दैनन् । त्यही सोचेर विवाह गर्ने निर्र्णय गरें’, उनले स्पष्ट पारिन् ।
विवाह गरेकोे अहिले ५ वर्ष हुन लाग्यो । यो अवधिमा उनले छोरी एरिका र छोरा एरिकलाई जन्म दिइसकेकी छन् । बाबुआमाले भनेजस्तो उनले पढाइलाई पनि माया मारेकी छैनन् । हाल उनी स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । विवाह गरेपछि पनि फिल्म खेल्ने सपनाले उनलार्ई पछ्याउन छोडेको थिएन । कता कता उनको मस्तिष्कमा त्यो सपना सजिइरहेकै थियो । छोरी एरिकालाई जन्म दिइसकेपछि उनले निर्णय गरिन्, ‘जसरी पनि दुई सन्तान जन्माउनु नै छ, किन ढिलाइ गर्नु ? बरु दोस्रो सन्तान जन्माएर फिल्म खेल्छु ।’
‘सोचेजस्तो हुन्न जीवन भनिन्छ’ । तर एलिजाको जीवनमा यो भनाई खासै लागू भएन । उनले सोच्दै आएको कुुरा क्रमशः पूरा हुँदै गएको छ । ७ महिनाको छोरालाई आमाको जिम्मामा छोडेर अन्ततः उनी सपना साकार बनाउनमा लागिन् । तर यो काम भने सोचेकोेजस्तै बनाउनु थियो उनलाई । भनेकोजस्तो सजिलो कहाँ थियो र ?
एकैपटक नायिका र निर्मात्री भएर कुद्नुपर्दाको पीडा एक ठाउँमा छँदै छ । यो अवधिभर उनले भोग्नुपरेको नेपाली फिल्म ‘इन्डस्ट्री’ मा हुने खिचातानी र नवकलाकारलाई सौहार्दपूर्ण स्वागत नगर्ने अर्को समस्या आइलागेछ । केही निराश हुँदै उनले भनिन्, ‘भनेकोजस्तो त रहेनछ । नयाँ कलाकारहरूलाई दिल खोलेर स्वागत गर्ने वातावरण नै देखिनँ मैले ।’
उनी अहिले नयाँ कलाकारको रुपमा नेपाली कलाक्षेत्रमा प्रवेश गरिसकेकी छन् । तर, मिडियामा आफ्नो पहिचान ‘धमला पत्नी’ मा मात्र सीमित भएर आउँदा उनी हैरान भइसकिन् । फिल्म खेल्नमा श्रीमान्को साथ र सहयोगलाई त उनी भुल्न सक्दिनन् । हुन त उनका आमाबुबालाई पनि ऋषिले नै फिल्म खेल्न दिनुस् भनेर मनाएका थिए । ‘धमालाको हमला’ मा नायिकाहरूलाई ल्याएर उनीहरूले लगाएका छोटा कपडा र उनीहरूको व्यक्तिगत जीवनबारे केस्रा केस्रा केलाएर अभद्र शैलीमा प्रश्न गर्ने धमलाले श्रीमती एलिजाको कदमलाई हाँसी हाँसी साथ दिनु सानो कुरा होइन ।
तर, पनि आफू आफ्नै भिन्न पहिचान बनाउन लागिपर्दा पनि मिडियाले दिने ‘धमला पत्नी’ को ताजले उनी निराश भएकी हुन् । जीवनको यात्रा लामो छ । उनको यो भिन्न पहिचान बनाउने नतिजाको निर्धारण असोज १२ गते ‘अनुराग’ को रिलिजले तय गर्नेछ ।