खेल मुख्य समाचार

अब एसिया कप खेल्ने नेपालको सम्भावना कति ?

एसिया कप छनोट

अब एसिया कप खेल्ने नेपालको सम्भावना कति ?

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आइतबार नेपालले सिंगापुरमाथि शानदार जित निकाल्यो । नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गर्दै एसिया कप खेल्ने सम्भावना केही बलियो बनाएको छ ।

 

 तर यूएईले मलेसियालाई फराकिलो रनले हराएकाले नेपाललाई केही तनाव दिएको छ । यस्तै, वर्षाका कारण प्रभावित भएको ओमान र हङकङले अंक बाँड्दा पनि नेपाललाई फाइनलसम्म पुग्न कठिनाइ भएको हो । 


अंक तालिकामा अहिले ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । २ अंक जोडेको मलेसिया र अंकविहीन सिंगापुर दुबैको फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

नेपाल यसरी पुग्न सक्छ फाइनलमा 

पहिलो २ खेलमा ओमान र यूएईसँग लज्जास्पद हार्दा नेपाललाई निकै अप्ठेरो अवस्थामा पुर्‍यायो । त्यसपछि  २ खेलमा लगातार जिते पनि रनरेट सुधार भने हुन सकेको छैन । तथापि नेपालको गणितीय सम्भावना भने कायमै छ ।

 

अब मंगलबार यूएई र ओमान अपसमा भिड्नेछन् भने नेपालले हङकङको सामना गर्नेछ । यदि अब ओमानमाथि यूएईले जित निकालेमा एसिया कप खेल्ने नेपालको सपना सकिने छ। किन भने ओमानको अहिले नै ७ अंक छ जितले यूएईको ८ अंक हुनेछ ।

 

 त्यसपछि यूएई र ओमान फाइनलमा पुग्नेछन् । नेपालले हङकङलाई हराउँदा पनि ६ अंक मात्र हुन्छ र फाइनल खेल्न पाउँदैन । तर, ओमानले जित्यो भने नेपालको सम्भावना रहन्छ । 

 

अझ ओमानले यूएईलाई जति ठूलो अन्तरले हरायो, नेपाललाई त्यति नै फाइदा । तर नेपालले हङकङलाई ठूलो अन्तरले हराउन सक्नुपर्छ । त्यसबेला नेपाल र यूएईको समान ६-६ अंक हुन्छ र रन रेटमा नेपाल अगाडि रहे फाइनल खेल्न पाउनेछ ।

 

अहिले रनरेटमा यूएई सबैभन्दा माथि छ । उसको रनरेट १.५८३ पुगेको छ । ओमानको ०.९२७ छ भने नेपालको ०.१७६ मात्रै छ । 

छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्नेछ, जुन समूहमा भारत र पाकिस्तान पनि भएकाले कुनै पनि टिम यो अबसर गुमाउन चाहँदैनन् । नेपालको पनि लक्ष्य छनोट प्रतियोगिता जितेर एसिया कप खेल्ने नै हो ।

 

नेपाल नेपाली क्रिकेट एसिया कप छनोट प्रतियोगिता

विशेष