मुख्य समाचार

२ महिनापछि मेलम्चीको १७ करोड लिटर पानी राजधानी आउँदै

२ महिनापछि मेलम्चीको १७ करोड लिटर पानी राजधानी आउँदै

काठमाडौं । करीब दुई महिनापछि मेलम्ची खोलाको १७ करोड २८ लाख लिटर पानी दैनिक राजधानी आउने भएको छ । पानी ल्याउन सुरुङ निर्माण सम्पन्न गरी ढलान गर्ने काम पनि अन्तिम चरणमा पुगेकाले २ महिनापछि राजधानीमा १७ करोड २८ लाख लिटर पानी आउने भएको हो । 

 


सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए । 

 

 

वितरण प्रणाली परीक्षणका क्रममा आउन सक्ने समस्याको समाधान गर्न आवश्यक तयारी पूरा गरिएको छ । फुटेको, चुहिएको पाइप देखेमा निर्देशनालयको निःशुल्क फोन नं ११३९ मा खबर गर्न अनुरोध गरिएको छ । पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन निर्देशनालयले सजग गराएको छ । 

 

 

ठेक्का लगाइएको एक हजार एक किमी वितरण सञ्जालमध्ये हालसम्म ७३० किमीको काम सम्पन्न भएको छ । थोक वितरण प्रणालीको ७९ किमीको काम सकिएको छ । 

 

 

थोक प्रणालीबाट १० वटा पानीपोखरी पानी लगिनेछ । १० वटा पानीपोखरीबाट पहिलो चरणमा पाइप बिच्छ्याइएका स्थानमा पानी वितरण गरिनेछ । वितरण सञ्जालका बनेका क्षेत्रमा हालसम्म ६९ हजार धारा जडान भइसकेको छ ।

 

 

 पहिलो चरणमा ठेक्का भएकोमध्ये अब करीब २० हजार धारा जडान गर्न बाँकी छ । यो काम सक्न एक वर्ष लाग्ने निर्देशनालयको अनुमान छ । 

 

 

मेलम्चीको पानी २६.५ किमीको सुरुङबाट सुन्दरीजल ल्याई पानी प्रशोधन केन्द्रमा खसालिनेछ । प्रशोधनका लागि पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भएको छ । 

 

 

केन्द्रमा वाग्मती नदीको बढी भएको पानी प्रशोधन गरी दैनिक तीन करोड लिटर पानी पुरानै सञ्जालबाट वितरण भइरहेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण भइरहेको छ । 

 


यसैबीच, मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । 

 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले विहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । 

 

 

पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । 


 

सुन्दरीजल काठमाडौं मेलम्ची खोला

विशेष