मुख्य समाचार

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध

काठमाडाै । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् । 

 

 

समितिको शुक्रबार बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा पाण्डेले प्रस्ताव र गोपालबहादुर बमले समर्थन गरेका थिए ।

 

 

समितिको बैठकको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले प्रतिनिधिसभा नियमावली १७३ को उपनियम ४ बमोजिम समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

 

 

विसं २००७ मा पर्साको वीरगञ्जमा जन्मेका श्रीवास्तव पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय सामजवादी फोरम नेपालको तर्फबाट विजयी भएका हुन् । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उनले २०२५ सालमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । 

 

 

पटकपटक वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भई स्थानीय जनतामाझ लोकप्रिय भएका सभापति श्रीवास्तवले बारा, पर्सा औद्योगिक करिडोरमा खुलेका उद्योगमा कार्यरत श्रमिकलाई उचित पारिश्रमिक दिलाउन उल्लेख्य योगदान गरेका थिए । 

 

 

संसद्को नियमावली निर्माणका क्रममा श्रीवास्तवले समन्वयतात्मक भूमिका खेलका उनको प्रस्तावक एवं समितिका सदस्य पाण्डेले बताइन् । 
 

सभापति विमलप्रसाद श्रीवास्तव

विशेष