मुख्य समाचार

उपराष्ट्रपति पुन र सिपिसीका प्रान्त सचिवबीच भेट

उपराष्ट्रपति पुन र सिपिसीका प्रान्त सचिवबीच भेट

काठमाडौ‌ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । 

 

 

भेटमा उपराष्ट्रपतिले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल ‘एक चीन नीतिप्रति’ प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।

 

 

उपराष्ट्रपतिले चीन र नेपालबीच भएका पछिल्ला सम्झौता र समझदारीले दुई देशबीचको सम्बन्ध परम्परागतभन्दा माथि उठेको बताए । 

 

 

भेटका क्रममा उनले व्यापार तथा पारवाहन सम्झौता, बेल्ट एण्ड रोड इन्निसीएटिभ (बिआरआई) मा नेपालको सहभागिता र व्यापार तथा पारवाहनसम्बन्धी प्रोटोकलमा भएको सहमतिले दुई देशबीचको सम्बन्ध प्रगाढ भएको र सहकार्य विस्तार भएको बताए । 

 

 

उपराष्ट्रपति पुनले नेपाल राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिको यात्रामा चीनको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

 

 

उनले नेपालको समृद्धिमा सिचुवान प्रान्तका सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपालमा तीन वर्ष पहिले भूकम्प जाँदा सबैभन्दा पहिले सिचुवान प्रान्तका प्रतिनिधि गएर उद्धार र राहतमा सहयोग गरेको स्मरण गर्दै धन्यवाद दिए ।

 


उपराष्ट्रपति पुनले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दैै लगानीका लागि चीन र सिचुवान प्रान्तलाई आग्रह गरे । 

 

 

नेपालमा जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपालसँग भएको प्राकृतिक स्रोत साधनको उच्चतम उपयोग गर्न चीनसँग भएको प्रविधि, अनुभव र पूँजीको खाँचो रहेको उल्लेख गर्दै उनले दुई देशबीच सहकार्य जरुरी रहेको बताए ।

 

 

उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षका रुपमा मनाउन लागेको जानकारी गराउँदै सरकारी प्रयासबाटै चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन आग्रह गरे । उनले अहिले नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने विदेशी पर्यटकमा चिनियाँ रहेकोसमेत बताए ।

 

 

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन-नेपाल सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिए ।
 

उपराष्ट्रपति नन्दबहादुर पुन चिनियाँ कम्युनिस्ट पार्टी सिपिसी पेङ छिङुहवा

विशेष