मुख्य समाचार प्रदेश ७

रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर । मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्तर्गत घरधुरी सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।

 

 

चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड-गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ । 

 

 

रेलमार्गमा पर्ने पाँच सय घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका दुई शौचालय र इलाका हुलाक कार्यालय अत्तरियाको भवन रेलमार्गमा पर्ने देखिएको मेची-महाकाली विद्युतीय रेलमार्ग परियोजनाका सामाजिक विज्ञ सुभाषचन्द घिमिरेले बताए ।

 

 

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुख्खड र सुख्खड-गड्डाचौकी गरी चार भागमा विभाजन गरी काम अगाडि बढाइएको उनले बताए । 

 

 

परियोजनाअन्तर्गत रेल्वेको ट्र्याक राख्ने ठाउँ यकिन गर्ने, जग्गाको लेखाजोखा राख्ने, आवासीय क्षेत्रको घरधुरी सर्भेक्षणको काम, रुख, सञ्चार र स्टेशन राख्ने ठाउँको सर्भेको काम सेप्टेम्बर महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । ओभरहेड ब्रिज, क्रसिङ सडक, नदी खोलालगायत क्षेत्रको माटो परीक्षणको काम पूरा भएको छ । 

 

 

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सँगै विस्तृत इञ्जिनीयरिङ, सर्भे तथा डिजाइनको काम अगाडि बढाइएको छ । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्याङ्कन तयार गरी जनसङ्ख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ ।

 

 

वातावरणीय प्रभाव मूल्याङ्कनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाइन क्षेत्र र जैविक क्षेत्रबारे मूल्याङ्कन गरिन्छ । 

 

 

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरिया, उदासीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको काम र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ । 

कञ्चनपुर मेची-महाकाली विद्युतीय रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन

विशेष