संसदीय सुनुवाइ समितिको सभापतिमा कर्ण निर्विरोध
कठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । उनी पर्साबाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद हुन् ।
एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए । यस अघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास पनि व्यक्त गरे । बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए ।
समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे ।
समितिकी अर्का सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध निर्वाचित भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन् । यसैबीच, सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिका सभापति कर्णलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
सो अवसरमा सभामुख महराले समितिमा प्रवेश पाएका सबैखाले विचारमाथि व्यापक मन्थन गर्ने र राज्यलाई विश्वसनीय र मर्यादित बनाउन संसदीय समितिको निकै ठूलो भूमिका रहने धारणा व्यक्त गरे ।
विस २०४० मा तत्कालीन समाजिक संस्थाका रुपमा रहेको सद्भावना परिषद्को सचिवबाट राजनीतिमा यात्रा शुरु गरेका नवनिर्वाचित सभापति कर्ण सद्भावना पार्टी हुँदै अहिले राष्ट्रिय जनता पार्टीको नेताका रुपमा रहेका छन् ।
विना विभागीय मन्त्री, दुवै संविधानसभाको सदस्यको अनुभव हासिल गर्नुभएका सभापति कर्ण हाल पर्सा जिल्ला क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
विसं २००३ चैत १५ गते वीरगञ्जको जानकी टोलमा जन्मिएका सभापति कर्णल कानून र मानविकीशास्त्रमा स्नातक हुन् । सात वर्ष प्राध्यापन र ३० वर्ष वकालतको अनुभवी सभापति कर्णले व्यवस्थापिका–संसद्मा परिपक्क राजनीतिज्ञको छवी बनाएका छन् ।
लक्ष्मणलाल कर्ण संसदीय सुनुवाइ विशेष समिति