कभर स्टोरी भिडियो

‘दुःखमा साथ छोड्दा रै’छन्’ (भिडियाेसहित)

‘दुःखमा साथ छोड्दा रै’छन्’ (भिडियाेसहित)

काठमाडौं । विश्वनाथ गौतम, मिर्गौलापीडित युवा हुन् । उनलाई मिर्गौलामा समस्या देखिएको २३ वर्ष भयो । तीन महिनायता दुवै मिर्गौला फेल भएपछि उनी अहिले डायलसिस गरेर बाँचिरहेका छन् । मिर्गौलाको समस्या थाहा पाएपछि साथीभाईले पनि उनलाई मतलव गर्दैनन् । 

 

राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरकारले वास्ता नगरेको उनले बताए । उनी दुब्लाउँदै गएका छन् । पिसाबमा रगतको मात्रा देखिने गरेको छ । कहिलेकाहीँ अनुहार पनि सुन्निन्छ । 

 

उनले जीवनमा कहिले पनि सुखको अनुभूति गर्न पाएनन् । अहिले पानी पनि पिउन पाउँदैनन् । खाना पनि पेटभरी खान सक्दैनन् । उनको रोगका कारण माछामासु नखाएको त धेरै भयो । मन लागेर पनि खान पनि नपाउनु उनको विवसता हो । 

उनी बाँच्ने अब एउटै विकल्प भनेको मिर्गौलो प्रत्यारोपण हो । त्यसका लागि लाखौं रुपैयाँ लाग्छ । उनीसँग पैसा छैन । भएको पैसा आफ्नै उपचारकालागि खर्च गरिसके । केही सम्पत्ति पनि बेचे । तर पनि उनको समस्या ज्यूँ का त्यूँ छ । 

 

मर्ने कसलाई रहर हुन्छ  र ? विश्वनाथलाई पनि छैन । ३५ वर्षका भए । २३ वर्षदेखि रोगले भेट्यो । १२ वर्षको उमेरदेखि रोग लागेको थाहा भयो । त्यसयता उनको अनुहारमा खुसी कहिले फर्केर आएन । 

 

हरेक वर्ष, महिना, हप्ता र दिनमा घुमिफिरी दुःख नै आयो । सुखका दिन आउला कि भन्ने आश गर्दा गर्दै उनले बाल्यवस्था सिध्याए । युवा उमेरमा पनि यो हालत छ । 

 

‘छोरा मान्छे भएर रुन हुन्न’ भन्छन् । तर हामीसँग कुराकानी गर्दागर्दै उनी भक्कानिए । उनको आँशुले दिएको एउटै सन्देश थियो, त्यो हो– मलाई बाँच्न मन छ । 

 

६७ सालमा उनले विवाह गरे । त्यो बेला पनि उनमा मिर्गौलाको समस्या त थियो तर जीवन सामान्य नै चलिरहेको थियो । उनी चितवनको आभाष टेलिभिजनमा रिपोर्टर थिए । 

 

पत्रकारिता गरेर उनको जीवन सामान्य हिसाबले चलिरहेको थियो । तर अहिले एक्कासी मिर्गौलाले काम गर्न छाडेको छ । अब डायलसिस गर्दै बाँच्दै गर्नु परेको छ । अरुको मिर्गौला आफ्नो शरिरमा राख्न पाए भने मात्रै उनी थप केही वर्ष सहजतापूर्वक बाँच्न सक्छन् । 

 

आमा वृद्ध भइसकेकी छन् । दुई दाजुभाई मध्ये विश्वनाथ कान्छा हुन् । पिताजीको निधन भइसकेको छ । दाईले पनि उनलाई सहयोग गरेका छन् । तर त्यो सहयोगले पनि पुगेन । अहिले एक छोरा एक छोरी छन् । 

 

मिर्गौला प्रत्यारोपण गर्न १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । त्यो पैसा जुटाउन उनले सकेका छैनन् । पारिवारिक स्थिति पनि राम्रो छैन । आर्थिक सहयोग जुटाउदै पनि उनी हिँडेका छन् । मान्छेहरुले एक पटक सहयोग गर्छन् । सबैले सधै सहयोग गर्दैनन् । 
उनलाई सहयोग गर्न चाहनेहरुका लागि प्रभु बैंकमा खाता पनि खोलिएको छ । खाता नम्बर हो – १०४० १०००६१७६८१०००००१ । यो खाता विश्वनाथ गौतमकै नामको हो । 

 

विश्वनाथलाई पत्रकारहरुले पनि सहयोग गरिरहेका छन् । थप सहयोगको आश्वासन दिएको पनि उनले जानकारी दिए । विश्वनाथले दयालु दाताहरुसँग आफू बाँच्न चाहेकोले सहयोगका लागि आग्रह गरेका छन् । 
 

विश्वनाथ गाैतम मिर्गाैलापीडित

विशेष