मुख्य समाचार

हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध छः गृहमन्त्री थापा

हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।  

 

 

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उाले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।

 

 

गृहमन्त्री थापाले भने, ‘मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्या, हिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताका बीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।’

 

 

निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उहाँले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कम्जोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।

 


सरकार र नागरिकको समन्वयमा मात्र पूर्ण सुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए । आगामी दशैं र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले उपत्यकाबाहिर जाने यात्रुका लागि टिकट बुकिङ खुल्ला भइरहेको बताए

 

 

बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभई मस्तिष्कघातबाट भएको रिपोर्ट आएको बताउँदै गृहमन्त्री थापाले भने, ‘विगतको तुलनामा हत्या हिंसाका घटनामा कमी आएको छ, शान्ति सुव्यवस्था सुदृढ भएको छ ।’

गृहमन्त्री रामबहादुर थापा राममनोहर यादव हत्या र हिंसा

विशेष