संविधानमा धेरै त्रुटी भएकाले संशोधन हुनुपर्छः उपप्रधानमन्त्री यादव
विराटनगर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा धेरै त्रुटी रहेकाले यसको संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम भेलाको मंगलबार उद्घाटन गर्दै उनले संविधान संशोधन हुनु पर्नेमा जोड दिएका हुन् ।
संविधान विभेदकारी बन्न नहुने तर्क गर्दै उपप्रधानमन्त्री यादवले संविधानलाई संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्नुपर्ने बताए ।
साधन र स्रोतविहीन प्रदेश कहिले पनि बलियो हुन नसक्ने भन्दै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न गरीबी र बेरोजगारी समस्या समाधान हुनु पर्नेमा जोड दिए । साथै, उनले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका यादवले संविधानमा महिलाको अधिकार अरू देशको तुलनामा बढी रहेको स्पष्ट पारे ।
उनले मुलुकमा पर्यटन, जलस्रोत र कृषिको विकास गरेर मात्र पछौटेपनलाई निर्मूल पार्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यमा नेपाली जनताको पहुँच अत्यधिक बनाउनुपर्ने विचार व्यक्त गरे ।