मुख्य समाचार

‘चुरे वन तथा वातावरण जोगाऔं’ अभियान सुरु 

‘चुरे वन तथा वातावरण जोगाऔं’ अभियान सुरु 

बारा । चुरे मधेस विकासमञ्चले सोमबार तराई मधेस राष्ट्रिय परिषद्को सहयोगमा निजगढ बजारको बुद्धचोकमा 'चुरे वनजंगल तथा वातावरण जोगाऔं' शिर्षकमा वृहत सभा आयोजना गरेको छ । 

 

स्थानीयवासी साथै टांगिया बस्तीका जनताको सहभागिता रहेको कार्यक्रम चुरेको अव्यवस्थित दोहनबाट भइरहेको नोक्सानी तथा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलले ल्याउन सक्ने वातावरणीय प्रभावको न्यूनिकरण गर्ने विषयमा केन्द्रित थियो ।

 

पर्सा जिल्लाका चर्चित सामाजिक कार्यकर्ता प्रकाश थारूले चार कोसे जंगलको दक्षिणी भेगका थरुहट क्षेत्रमा कृषकले अहिले वर्षको तीन बाली भित्र्याइ रहेको छ । तर अनियन्त्रित जंगल फड़ानी भए पानीका मुहानहरू सुक्दै जाने खतरा रहेको औंल्याए । 

 

पानीको सतह पछिल्ला केही वर्षमा धेरै तल गइसकेकोले विमानस्थल निर्माणको लागि न्यूनतम चाहिने जग्गामात्र अधिग्रहण गर्नुपर्ने र अहिले प्रचारित विश्वको तेस्रो सबभन्दा ठूलो विमानस्थल बनाउन लागेर विश्व सामू हाँसोको पात्र नबन्न उड्ययन प्राधिकरणलाई सुझाउ समेत दिए ।

 

अगाडी थारूले यति ठुलो भूभागमा हुन लागेको वन विनासले आउने दिनमा कोलभी, गढीमाई, सिमरैनगढ, घोरहा बजार जस्ता दक्षिण भेगमा रहेका भूभाग बढी प्रभावित हुने धारणा राखे । 

 

समाजशास्त्री भरत शाहले चुरेको अनियन्त्रित दोहनले नदिको उँचाई खतरनाक गतिले बढ़ीरहेको र वर्षौपिच्छे बाढ़ी आउने त्रास जनमानसमा फैलिदैं गएको कुरा बताए । उनले निजगढ़ एयरपोर्टको लागि माटो पुर्ने बेला फेरी चुरे कटान गरे समस्या झन बल्झिने तर्क दिए । 

 

उनले भने, ‘विश्वका साना तर धेरै यात्रीलाई सेवा पुर्याइरहेका लंडनको ग्याट्विक, मुम्बईको क्षत्रपति शिवाजी, चीनको जियामेन इत्यादि जस्ता कुशल र प्रभावकारी एयरपोर्टबाट सिक्न समेत सरकारलाई आग्रह गरे । उनले प्रश्न समेत गरे, ‘६७४ हेक्टरबाट ५ करोड़ यात्रीलाई सेवा प्रदान गर्दै आएको लंडनको ग्याट्विक विमानस्थलबाट सरकारले सिक्नुपर्ने हो ?”

 

टांगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले सरकारले बस्ती सार्न मुआब्जा वितरणमा ढिला सुस्ती गरेको तथा विमानस्थललाई बारा भन्दा बाहिर लग्ने चलखेल सुरू भएको प्रति खबरदारी प्रकट गरे । 

 

सरकारले जबसम्म चुरे छेउछाउ बसेका जनतालाई त्यहाँबाट हटाइ समतल भूभागमा पुनर्वास नगरुनजेल, चुरेमा उत्खनन तथा सड़क निर्माण भइरहने हुनाले मधेसका उर्वर खेतियोग्य जमीन बचाउन माग समेत गरे।

 

निजगढ़का स्थानीय समाजसेवी कुमार लामाले निजगढ़ विमानस्थल ठुलो सानो जस्तो सुकै बनाएपनि निजगढ़ भन्दा अन्यत्र सार्न नहुने र पर्यावरणको ख्याल राखी निर्माण गर्नुपरेमा जोड़ दिनुभयो । उनले कुनैबेला दक्षिण कोरिया र जापान जस्ता मुलुकलाई दान दिने हैसियत राखेको हाम्रो मुलुकको दुर्दशा फेर्ने परियोजनाको रूपमा निजगढ़ विमानस्थललाई सबैले सघाउनुपर्ने आग्रह गरे । 

 

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा सामाजिक अभियन्ता सरोज रायले, जंगल कटानीको सोधभर्ना स्वरूप जति सुकै रुख रोपे पनि त्यो जंगल बन्न नसक्ने बरू बगैचा जस्तो हुने तर्क राखे । रुख रोप्न सकिएपनि दुर्लभ जंगली जनावरको वासस्थल कुनै बगैचा हुननसक्ने कुरा राख्नु भयो । सरकारले यस परियोजनाका कुनै दस्तावेज सार्वजनिक नगरेकोले सरकारको रुख काट्ने नियत माथि शंका गर्न प्रशस्त ठाँउ रहेको बताए । 

 

विमानस्थलको सम्भाव्यता भएको २५ वर्ष अघि र आजको परिस्थिति र प्रविधि हेर्नु पर्दा धेरै फरक भइसकेको छ । उहिलेको बेला निजगढ़ र सिमरा सानो गाँउ छँदा भएको अध्ययनले दुबै शहर विकसित हुने अनुमान नगरेको तथा दुबै ठाँउलाई बाइपास गरेर नयाँ एयरपोर्ट सहर बनाउने सुझाउ रहेको सो रिपोर्ट अहिले काम नलाग्ने बताए ।

 

कार्यक्रमको समापन गर्दै चुरे मधेश विकास मंचका अध्यक्ष सुनिल यादवले अहिलेको बेला तराई–मधेसका सबै समुदाय मिलेर वन जंगल तथा चुरे संरक्षणका लागि हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको मंतव्य राखे । चुरेको अव्यवस्थित उत्खनन र बाटोघाटो निर्माणमा सरकारले हस्तक्षेप भूमिका निर्वाह गर्नुपर्ने बेला आएको तथा कठोर नियमनकारी विभाग संचालन गर्नुपर्नेमा पनि जोड़ दिए । 
 

कार्यक्रम मंचका उपाध्यक्ष रामाधार यादव, प्रवक्ता राजेश भण्डारी, सचिव लक्ष्मी सिंह, पर्सा अध्यक्ष राँकी झा, बारा अध्यक्ष लक्ष्मी यादव, रौतहट अध्यक्ष लक्ष्मण साह, सर्लाही अध्यक्ष संजय साह, केन्द्रीय सदस्यहरू पन्नालाल पटेल, सूरज गुप्ता, अरविन्द यादव, कोषाध्यक्ष कृष्णाउति देवी साह तथा तराई मधेस राष्ट्रिय परिषद्का सदस्य शशी यादव तथा अन्यको उपस्थिति रहेको थियो ।
 

बारा चुरे मधेस विकासमञ्च तराई मधेस राष्ट्रिय परिषद्को 'चुरे वन जंगल तथा वातावरण जोगाऔं'

विशेष