‘वरिष्ठे दाई’ भन्छन्, ‘बक्सअफिस राम्रो लागू नभएसम्म फिल्म बनाउदिनँ’ (भिडियोसहित)
एजेन्सीवालाहरुले धारावाहिकको पैसा रोकिदिन्छन्
काठमाडौं । ‘वरिष्ठे दाई’ अर्थात निर्देशक/कलाकार शंकर आचार्य । शंकर आचार्य भन्दा आचार्यलाई वरिष्ठेदाई भनेर धेरैले चिन्छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य धारावाहिक ‘भद्रगोल’का निर्देशक तथा कलाकार आचार्यले त्यो धारावाहिक छाडिसकेका छन् तर उनलाई अहिले पनि धेरै दर्शकले ‘मिस’ गर्छन् ।
‘हजुर वरिष्ठ हवस् त नमस्ते’ थेगोसहित सानो पर्दामा हिट भएका शंकर आजभोलि आफ्नै घरायसी व्यवहारमा व्यस्त छन् ।
नेपालआजसँगको कुराकानीका क्रममा उनले एउटा चलचित्र बनाउन खोजेको तर बजारको अवस्था देखेर तीन छक्क परेको सुनाए । सिनेमाका लागि प्रस्ताव लिएर जाँदा धेरैजसोले आफ्नो पारिश्रमिक बढाएको, समय दिन नचाहेको अनुभव सुनाए । कतिपयले त निर्देशक आचार्यलाई नै अन्तर्वार्ता लिन खोजे । उनको विषयमा सामान्य जानकारीसमेत नभएका हिरोहिरोइन देखेर उनी जिल खाए ।
फिल्ममा लगानी गर्नु भनेको लगभग पैसा डुबाउनु नै हो । एकाध सिनेमा बाहेक सबै फ्ल्प भएका छन् । वर्षमा १२० सिनेमा रिलिज हुन्छन् । त्यसमा १०–१५ वटा बाहेक सिनेमाले पानी पनि माग्दैनन् ।
बक्स अफिस लागू भएपछि नेपाली सिनेमा निर्माताहरुका लागि केही सजिलो हुने उनको विश्वास छ ।
सिनेमा बनाउने भनेर दयाहाङ राईसँग उनी पुगेछन् । तर सुरुमा दयाहाङले भेट्नै मानेनन् । भेटेपछि दुई वर्षसम्म व्यस्त छु भन्ने जवाफ फर्काएछन् । हिरोइन बनाउने भनेर साम्राज्ञी भएठाउँ जाँदा ६–७ महिना त चक्करै लगाइदिइछन् । सात महिना अघि सात लाभ भाउ बताएकी साम्राज्ञीले सात महिनापछि १५ लाख पुर्याएपछि दयाहाङ र साम्राज्ञीको भूतले पनि उनलाई छाडेछ ।
हिजोअस्ति आएकाहरुले १५ लाख भन्दा सौगातको भाउ उनलाई सामान्य लाग्न थालेको छ । शंकर भन्छन्, ‘सौगात मल्लले आफ्नो भाउ बढी राखेको होइन भन्ने लाग्छ अहिले आएर ।’
भद्रगोलको कहानी सुरु हुनु अघि नै शंकरले लभ फरएभर बनाएर ७० लाख डुबाए । सिनेमामा गरेको लगानी क्यासिनोको जुवा भन्दा पनि घाटामूलक लाग्छ उनलाई । दुःख गरेर सिनेमा बनाएर के गर्नु वितरकहरुले समेत पक्का कुरा नगरेर धोका दिने गरेको उनको अनुभव छ । फेरि पनि सिनेमा बनाउने उनको चाहना त हो । तर नेपालमा बक्स अफिस राम्रोसँग लागू नभएसम्म सिनेमा नबनाउने मुडमा उनी पुगेका छन् ।
वरिष्ठे दाईले भद्रगोल छाड्नुको कारण पनि यसपटक खुलासा गरे । भद्रगोलका मुख्य दुई जिम्मेवार भनेको जिग्री र पाँडे हुन् । उनीहरु भाईहरु भए पनि शंकरले भाईसाथी मानेका थिए । उमेर ग्यापले स्वभावतः जेनेरेसन ग्याप गरिदियो । जसका कारण भद्रगोल उनका लागि फिट हुन छाड्यो । शंकरले भद्रगोल छाड्नुको कारणको गाँठो फुकाउँदै भने, ‘भाईहरुको लहलहैमा लागेर हिँडिरहन सकिनँ । भाइसाथीहरुको पछाडि पुच्छर हल्लाएर हिँडन नसक्ने अवस्था आएपछि मैले भद्रगोल छाडिदिएँ ।’