चौका दाउको राम पियारी युट्युबमा हिट
अग्रज संगीतकार कथाकार शम्भुजीत बासकोटाले चलचित्र ‘चौका दाउ’को गीत राम पियारी…शुक्रबार दिउँसो काठमाडौंमा एक मसारोहबीच रिलिज गरे ।
लोकभाकामा बनेको गीतलाई अतिथिहरुले राम्रो प्रतिक्रिया दिए । कार्यक्रममा मुख्य अतिथि अग्रज कलाकार हरिवंश आचार्यले राम पियारी गीतलाई शम्भुजीत बासकोटाले निकै कर्णप्रिय बनाएको बताए ।
यो गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । गीतमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारीको स्वर रहेको छ । जसमा संगीतकार बास्कोटाकै संगीत रहेको छ ।
हरिवंश आचार्यले कार्यक्रममा बोल्दै यो गीत निकै कर्णप्रिय बनेको बताए । भिडियो पनि राम्रो बनेको आचार्यको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कथाकार बास्कोटाले आफूले यसअघि पनि आठवटा चलचित्रमा कथा लेखेको र छोरा सौर्यजीत निर्माता भएकाले चौका दाउको कथा पनि आफूले लेखेको बताए । लोकलयमा तयार गरेको राम पियारी…गीतले दर्शकको मन जित्ने विश्वास उनको छ ।
भिडियोमा कृष्ण बनेर गोपिनीसँग नाच्दै निकै रमाइलो लागेको सन्तोष पन्तले बताए । गीतमा भीमफेदी गाइजको कोरियोग्राफी छ । जसमा अजश्र ढुंगाना, वर्षा राउत, सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रवीन्द्र झासँगै भीमफेदी गाइजको नृत्य छ ।
सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । जसमा सहनिर्माता पंकज बास्कोटा छन् ।
यो चलचित्रमा दीर्घ गुरुङको छायांकन रहेको छ भने मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।
चलचित्रका अरू कलाकारमा निर्मल शर्मा, सोनिका केसी, विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायत छन् । चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले र प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का हुन् । यसलाई ९ कात्तिकमा रिलिज गरिने भएको छ ।