मुख्य समाचार

 १८ वर्षपछिको सपना पूरा हुँदै, २ महीनापछि मेलम्चीको पानी काठमाडौंमा 

 १८ वर्षपछिको सपना पूरा हुँदै, २ महीनापछि मेलम्चीको पानी काठमाडौंमा 

काठमाडौं । उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् ।

 

 

मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए ।कँडेलका अनुसार करीब २५ हजार ८ सय मिटरमध्ये १५ हजार ३ सय ८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५ सय ३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ ।

 

 

दैनिकरुपमा २ सय देखि २ सय ५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौंवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके ।

 

 

सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् । 

 

 

दशैंभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ । 

 

 

बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौं कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान पाउँछन् भन्ने प्रश्न सोधेका थिए ।

 

 

समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिए ।

 

 

सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । दशैंभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । 

मेलम्ची खानेपानी आयोजना काठमाडौं राष्ट्रिय गौरव

विशेष