मुख्य समाचार खेल

एसिया कप छनोट: नेपालकाे दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

एसिया कप छनोट: नेपालकाे दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं । मलेसियामा भइरहेको एसिया कप छनोटअन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ।

 

आफ्नो चौथो खेलमा नेपालले सिंगापुरलाई आइतवार ४ विकेटले हरायो।  लगातार दुई खेल जितेको नेपालले ४ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा चौथो स्थानमा छ।

 

नेपालले अब हङकङसँग अन्तिम खेल खेल्दैछ। र फाइनल पुग्ने नेपालले हङकङलाई हराउनुपर्नेछ भने अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा हुनुपर्नेछ।

 

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

 

नेपालको लागि ओपनर अनिल कुमार शाहले सर्वाधिक ४३ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ तथा ज्ञानेन्द्र मल्लले २९ रनको योगदान दिए।

 

सिंगापुरका सेलाडोर विजय कुमार र अनन्थ कृष्णले २-२ विकेट लिए। युकेएम मैदान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको हो।

 

सिंगापुरका कप्तान चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए। चेतले चौथो विकेटका लागि अनिस परामसँग ८० रनको साझेदारी गरे। अनिसले  ३१ रन बनाए।

 

सिंगापुरलाई अलआउट गर्न नेपालको लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। ललितले ९ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।

एसिया कप छनोट

विशेष