बलात्कारविरुद्ध कारबाहीमा तीव्रता

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही सुरु गरेको छ ।
बलात्कारका घटना बढ्न थापेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक केशव थेवेले बताए। प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ ।
राईले असोज ६ गते बालिकालाई करणी गरेको प्रहरीको भनाइ छ । त्यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका–१ डाँडा वोखिमका २५ वर्षीय मदन राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।
भोजपुरको हतुवागढी गाउँपालिका–६ माटोखानी टोलबाट एक ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा स्थानीय २५ वर्षीय छत्रमान राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते करणी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।