मुख्य समाचार

४७ स्थानमा सहुलियत मूल्य पसल, कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीः आपूर्ति मन्त्री

४७ स्थानमा सहुलियत मूल्य पसल, कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीः आपूर्ति मन्त्री

काठमाडौं । सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । 

 

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको हो । 

 

 

रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा आज सहुलियत मूल्य पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको बताए । 

 

 

विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उनले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताए । चाडपर्वबाहेक अन्य समयमा पनि आम पसल सञ्चालकले सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । 

 

 

मन्त्री यादवले चाडबाडका क्रममा उपभोग्य सामनको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकार कडारुपमा प्रस्तुत हुने प्रस्ट्याए ।

 

 

यसपटक उपभोग्य सामग्रीको अभाव र कृत्रिम मूल्यवृद्धि नहुने दाबी गर्दै उनले आम उपभोक्तालाई ढुक्क हुन आग्रह गरे । 

 


आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउन र कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे । मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । 

सहुलियत मूल्य पसल नेशनल ट्रेडिङ लिमिटेड उपभोक्ता संरक्षण विभाग आपूर्तिमन्त्री मातृकाप्रसाद यादव

विशेष