ए डिभिजन लिगः आर्मीसँग एनआरटी बराबरीमा रोकियो
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा आर्मी एनआरटीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अन्तिम समयमा गोल गर्दै आर्मीले एनआरटीसँग्ग बराबरी खेलेको हो । एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले एक एक गोल गरे । आर्मीका दुवै गोल सन्तोस तामाङले गरे ।
निकै रोमान्चक बनेको खेलको १२ औं मिनेटमा रोजितले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा सन्तोसले पेनाल्टीमा गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा राजेशले उत्कृष्ट गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए ।
राजेशले मध्य भागबाट एक्लै बल अघि बढाएर गोल गरेका थिए । तर, खेलको इन्जुरी समयमा सन्तोसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । लिग अन्तर्गत आइतबार संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।