मुख्य समाचार

कांग्रेसभित्र कुनै गुट-उपगुट छैनः उपसभापति निधि

कांग्रेसभित्र कुनै गुट-उपगुट छैनः उपसभापति निधि

तुलसीपुर ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उनले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताए । 

 

 

उपसभापति निधिले भने, ‘अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म एउटै हुने प्रयत्नमा छौँ, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।’ उनले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताए। 

 

 

पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उपसभापति निधिले सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीको मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको बताए । 

 

 

विधान संशोधन समितिका संयोजक रमेश लेखकले पार्टीको विधान समयसापेक्ष संशोधन गर्न आवश्यक भएकाले विधानलाई परिमार्जन गर्न लागिएको जानकारी दिए । 

 

 

कांग्रेस प्रदेश नं ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, रुपन्देही, प्यूठान, रोल्पा, पश्चिम रुकुमका काङ्ग्रेस केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, सबै भ्रातृ संगठनका प्रतिनिधि सहभागी भएको भेलामा विभिन्न पाँच भागमा विभाजन गरेर विधान मस्यौदामा सुझाव संकलन गरिएको थियो । 

विमलेन्द्र निधि कांग्रेस उपसभापति

विशेष