मुख्य समाचार

६ हजार चिकित्सकद्वारा काउन्सिललाई लाइसेन्स फिर्ता

६ हजार चिकित्सकद्वारा काउन्सिललाई लाइसेन्स फिर्ता

काठमाडौं । ६ हजार चिकित्सकले नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् । 

 

माइतीघर मण्डलामा प्रदर्शन गरेपछि ६ हजार चिकित्सकले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर  लाइसेन्स काउन्सिललाई बुझाएका हुन् । 


डा. बद्री रिजालका अनुसार नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएका हुन् । 

 

नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि स्वास्थ्यकर्मीले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने भन्दै आन्दोलन सुरु गरेका छन् ।

 

चिकित्सकको आन्दोलनका कारण अाइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । 

 

नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेको हो । डाक्टरहरुको आन्दोलनका कारण अस्पताल उपचार गर्न  पुगेका बिरामी मर्कामा परेका छन् ।

 

संघले सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका बिरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । 

चिकित्सक नेपाल मेडिकल काउन्सिल

विशेष