अन्तरवार्ता भिडियो कभर स्टोरी

‘पश्चिमाहरूले हिन्दु धर्मको हत्या गर्ने प्रयास गरेका छन्’ (भिडियाेसहित)

‘पश्चिमाहरूले हिन्दु धर्मको हत्या गर्ने प्रयास गरेका छन्’ (भिडियाेसहित)

काठमाडौं । नेपाल पंञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले नेपालीहरूको महान् चाड बडादसैँमा देवदेवीहरूको शक्तिपीठमा परम्परादेखि चलिआएको बलि प्रथालाई कूल धर्मअनुसार निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । 


नेपाल आजसँग विशेष कुराकानी गर्दै प्राडा गौतमले भने, ‘हाम्रो नेपाली समाजमा विभिन्न सम्प्रदायहरू छन् । विभिन्न सम्प्रदायमा जो गृहस्थाश्रममा बस्ने जो वैदिक धर्मानुयायी छन् । त्यसमा पनि प्रवृत्ति मार्गमा लाग्ने छन् उनीहरूले बलि दिनुपर्छ तर जो निवृत्ति मार्ग (वैष्णव, सन्त, महन्त, सिद्ध र योगी) लागेका छन् उनीहरूले पशुपंक्षीहरूको बलि दिनु पर्दैन् । सृष्टिकर्ताले दुई किसिमका प्राणी सिर्जना गरेका छन्, ती हुन्, विवेकशील प्राणी र अविवेकशील प्राणी । विवेकशील प्राणीमा हामी मनुष्य जाति पर्छौं । अविवेकशील प्राणीमा पशुपंक्षी पर्छन् । म धर्मशास्त्रको विद्यार्थी भएकाले धर्मशास्त्रले जे भनेको छ, म त्यही बोल्छु । विवेकशील प्राणी र अविवेकशील प्राणी दुबैले अन्तिममा मोक्ष प्राप्ति गर्ने हो । उनीहरूको चाहना हुन्छ मनुष्य वा पशु योनीभन्दा अन्य उत्कृष्ट योनीको चाहना राखेको हुन्छ । विवेकशील प्राणीको मोक्ष हुन अनेक उपाय छन् । तीर्थ, व्रत, दान, धर्म, श्राद्ध र तर्पण यी सारा कुराहरू छन् । यीनैको माध्यमबाट पारलौकिक शान्ति चाहन्छन् । मनुष्यका मोक्ष चाहने विभिन्न उपाय छन् भने पशुपंक्षीका त केही यपाय छैन । त्यसैले तिनीहरूको एउटै मोक्ष हुने उपाय के हो त भन्दा विधिपूर्वक वैदिक यज्ञयाज्ञादिमा जस्तो सोमयाग, पशुबन्धयाग र मेरुधयागमा र शक्तिपीठहरूमा पशुबलि पद्धतिअनुसार बलि चढ्न पाउनु नै पशुपंक्षीको अहोभाग्यको कुरा हो । उनीहरूको मुक्तिको कुरा हो ।’


प्राडा गौतमले पशुबलि प्रथाबारे विशेष कुराकानीका क्रममामा व्यक्त गरेका विचारको सारसंक्षेप यसप्रकारको छ :

‘शास्त्रमा बधौबधहः भन्ने श्लोक र ऋचाहरू छन् । ऋग्वेद, यर्जुवेदमा पशु बलि दिने व्यापक व्यवस्था छ । पशुपतिको वनकालीमा तीर्थराज गुरुले सोमयाग गरी पशुबलि दिएका थिए । तर उहाँ मांशाहारी थिएनन् । यज्ञमा भारतबाट ठुल्ठूला विद्वान्हरू आएका थिए । तीर्थराज गुरुले बोको बलि चढाएर यज्ञ गरे । त्यसकारण पशुबलि दिने कुरा धर्म शास्त्रसम्मत कुरा हो ।’


‘गृहस्थाश्रम वा सांसारिक जीवन बिताउनेहरूले पशु बलि दिनै पर्छ ।  यीनै शास्त्रीय परम्परानुसार हाम्रो नेपालमा पनि पशु बलि दिने प्रचलन रहिआएको हो । यसको विरोध गर्नु भनेको चाहिँ शास्त्र सिद्ध कुरा होइन । विरोध गर्नु उचित कुरा पनि होइन । दिनेले बलि दिन पाउनु पर्छ ।’


‘पशुको मुक्ति हुने उपाय बलि नै हो । विरोध गर्नेले त कहाँ खानका लागि अझ त अपशब्द प्रयोग गरेर घिच्नका लागि समेत भनेर विरोध गरिरहेका छन् । त्यो मलाई थाह छ, यो चाहिँ शास्त्र नबुझेर हो । भगवतीको सात्विक, राजस र तामस गरी तीन प्रकारले पूजा हुन्छ । सात्विकमा साधारण फूल, अक्षता र नैबेद्य हुन्छ भने राजस पूजामा बलि पनि हुन्छ । त्यस्तै तामस पूजामा त बलिसहित रक्सी पनि भगवतीलाई चढाउनु पर्दछ । यो कुराको व्यवस्था धर्म र तन्त्र शास्त्रमा उल्लेख छ । जसको जुन सिकसिमको पूजा गर्ने परम्परा छ, त्यहीअनुसार पूजा गर्नु पर्दछ ।’


‘खानका लागि पशु बलि दिने होइन । लोकमा आसुरी शक्तिको दबदबा भएकाले भगवतीको उत्पत्ति भएको हो । पशु बलि किन दिने त भन्दा हामीले खानका लागि होइन । देवीलाई शक्तिशाली बनाउन बलि दिने हो । देवी शक्तिशाली भएपछि दुर्जनहरूको नाश भई सज्जनहरूको हित हुन्छ । पशु बलि दिने शास्त्रसम्मत भएकाले गृहस्थाश्रममा बसेकाले दिनै पर्छ ।’  


‘जहिले अर्थात् आदिम कालदेखि नै सृष्टिकर्ताले सारा प्राणीहरूको सृष्टि गरे । त्यसपछि विवेकशील प्राणी सृष्टि गर्दा सृष्टिकर्ताले आफ्नो शरीरलाई फ्याकलाक्क दुई भाग पारेर आधी भागबाट पुरुष जात र अर्को आधी भागबाट नारी जातिको सृष्टि गरेको छ । अहिले नारीहरूले हामीलाई हिन्दू धर्म शास्त्रले उपेक्षा गरेको भन्ने सुनिन्छ । हिन्दुस्तानमा त मनुस्मृतिसमेत जलाए । तर त्यो होइन । शास्त्रले नारीलाई कहिल्यै उपेक्षा गरेको छैन । सदैव सम्मान गरेको छ । लोकमा कसैले तलमाथि ग¥यो भन्दैमा उपेक्षा वा हेलाँ गरेको मानिँदैन् । ब्रह्मा, विष्णु र महेशले पनि नारी शक्तिबिना कुनै काम पनि सम्पन्न गर्न सक्दैनन् । मानव जातिका लागि नारी शक्तिको अपरिहार्यता छ ।’


‘अहिले हाम्रो धर्ममाथि राजनीति गरेर आक्रमण हुन थालेका छन् । जस्तो बलि प्रथा कै कुरा गरौँ । बलि दिन पाउनु पनि अधिकार हो त । चरचर्ती चाहिँ काटेर खान हुने, विधिपूर्वक यज्ञयज्ञादिमा शक्ति पीठहरूमा बलि दिन नहुने भन्ने त कुरै होइन । त्यसकारण विरोध गर्नेले विरोध गर्छ । यो राजनीति कुरा हो । कहीँ कतै विकृति, विसंगति छ भने सम्बन्धित निकायले हेर्ने कुरा हो । दक्षिणकाली, शोभाभगवतीमा बलि चढाउने कुरा कसैले रोक्दैमा रोकिन्न । यो बलि प्रथाको विरोधका लागि विरोधको कुरा मात्र हो । हिन्दु धर्ममाथिको आघात हो ।’


‘पश्चिमाहरूको चाहना भन्ने नै हिन्दु धर्मको नाश गर्ने हो । पश्चिमाहरू हिन्दुहरूको स्नान, जप, तप, न्यास र व्रत नमनपराउने हुन् । त्यसकारण पश्चिमाहरूको हिन्दु धर्मको नाश र हत्या गराउने प्रयास हो । विरोध गर्दैमा हिन्दु धर्म नाश हुँदैन् ।’
‘पशु अधिकारवादीहरूलाई म सोध्न चाहन्छु, बलि नदिने हो भने बोकाको के काम ? चट्ट काटिनु भन्दा त विधिपूर्वक बलि चढ्नु पाउनु नै अहोभाग्यको कुरा हो । बोकाको सृष्टि त शास्त्रमा प्रस्टै छ नि बोका बलि चढाउन कै लागि सृष्टि गरिएका हुन् ।’

प्राडा रामचन्द्र गौतम बडादसैँ

विशेष