पहिलो चरणमा सरकारले एक लाख युवालाई रोजगारी दिदैं छः मन्त्री बिष्ट
काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले प्रारम्भिक चरण अन्तर्गत सरकारले एक लाख नेपाली युवालाई रोजागारी उपलब्ध गराउन लागेको बताएका छन् ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्री विष्टले प्रारम्भिक चरणमा सरकारले एक लाख युवालाई रोजगारी दिन लागेको बताएका हुन् ।
मन्त्री विष्टले चालू आव भित्रै लाखौं व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रमसमेत सार्वजनिक गरिने बताए । उनले भने, ‘कुन क्षेत्रमा कतिको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अध्ययनको तयारीमा लागेको छौं । हामी यसको अन्तिम चरणमा छौं, रोजगारीको दुनियाँमा लाखौंं युवालाई रोजगारी दिने गरी कार्यक्रम सार्वजनिक गर्छौं ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढंगले अभियान शुरु गर्न लागेको बताए ।
उनले भने, ‘सरकारले युवालाई केन्द्रित गरेर ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम सबै नेपाली युवाले गौरव महसुस र साझा कार्यक्रमका रुपमा अपनत्व गर्ने गरी सञ्चालन गरिने छ ।’
रोजगार कार्यक्रम अमुक विचार, पार्टी, आस्था, मान्यताको दायराभित्र सीमित नरहने दाबी गर्दै उनले आम नेपाली युवालाई समान र निश्पक्ष अवसर पैदा गर्ने गरी सञ्चालन हुने बताए ।
शिक्षित बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउनु चुनौतीपूर्ण विषय रहेको बताउँदै उनले सानो नीतिगत निर्णयले मात्रै लाखौंको सङ्ख्यामा रोजगारी सिर्जना गर्नसक्ने सम्भावना देखिएको जानकारी दिए ।
विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।