कभर स्टोरी

बौद्धिक सम्पत्ति चोर नै उपकुलपति बन्ने देश हो यो (भिडियाेसहित)

बौद्धिक सम्पत्ति चोर नै उपकुलपति बन्ने देश हो यो (भिडियाेसहित)

काठमाडौं । नेपालआजमा ‘इतिहास र अनुभूति’ स्तम्भका स्तम्भकार प्रा.डा. सुरेन्द्र केसीले नेपालमा गलत व्यक्ति गलत पदमा पुग्दा के हुन्छ त्यसको दुष्परिणाम भन्ने विषयवस्तुमा यसपटक चर्चा गर्नुभएको छ । उहाँले लोकमानसिंह कार्कीदेखि दिगम्बर झासम्मको नालीबेलीमा राजनीतिक संयन्त्रको चलखेलबारे टिप्पणी गर्नु भएको छ । प्रस्तुत छ उहाँले व्यक्त गर्नुभएको धारणाको सारः 

 

‘पुरस्कार, सजाय, पारदर्शीता, जवाफदेहीता भन्ने कुरा प्रजातान्त्रिक व्यवस्थाका मूख्य तत्व हुन् । नेपालमा हालै दीगम्बर झा चर्चामा रहे । उनलाई सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति गरिदियो । उनी विगत २९ वर्षदेखि नेपालका विभिन्न सरकारी संस्थाहरुमा अनवरत अध्यक्ष वा कार्यकारी प्रमुख भएर बस्न सफल व्यक्ति हुन् । इमानपूर्वक भन्नु पर्दा यी झा को हुन् ? के कारण उनी सदावहार हुनुपर्ने हो मैले बुझेको छैन । उनी योग्य व्यक्ति भएको भए म जत्तिको मान्छेले थाहा पाउनु पर्ने हो । नेपालमा द्रब्य, नाता र शक्तिबाहेक कोही पनि पद हत्याउन सक्दैन । 

 


 

दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाइनु गलत हो । आधारबीना नै जोशीलाई अयोग्य भन्नु नेपाली राज्यसत्ताको कमजोरी हो । हिजो लोकमान सिंह कार्कीलाई कसरी ल्याए, कसरी गलत्याए ? हेरौं । सुशीला कार्कीलाई यिनैले महाभियोग प्रस्ताव लगाएकै हुन् । 

 

एउटा निर्दोश मान्छेलाई कल्पित आरोप लगाएर कुनै व्यक्तिलाई आक्षेप लगाएर अयोग्य भन्नु हुँदैन । दीपकराज जोशीप्रति त मेरो सहानुभूति छ । किनभने एउटा व्यक्ति प्रधानन्यायाधीशसम्मको बाटोमा पुगिसक्दा हुँदा उसका कुनै योग्यता कहिँ कतै जाँच नगर्ने अनि अन्तिममा आएर जाँच गर्ने भन्ने गलत कुरा हो । 

 

संवैधानिक समितिले हुन्छ भनेको व्यक्तिलाई संसदीय समितिले रोक्नु गलत हो । जोशीमाथि दूर्व्यवहार गरिएको हो । यो तरिकाले बदलावको भावबाट कुनै पनि प्रतिष्ठित नागरिकमाथि यस्तो गरिनु हुँदैन । भोलि यिनकै मान्छे माथि जाला, अर्को सत्ताले यसै गर्ला अनि यिनीहरुलाई कस्तो लाग्छ होला ? 
...

लोकमान सिंह कार्की अख्तियारको प्रमुख आयुक्त भए । कार्कीको चाहना अनुपयुक्त होइन । उनी जुन विधिबाट त्यहाँ पुगे त्यो विवादास्पद थियो । अनुपयुक्त व्यक्तिलाई त्यो ठाउँमा लगेर राख्नेहरु नै गलत हुन् । बाबुराम भट्टराईले प्रचण्डप्रति भक्तिभाव देखाउन त्यस्तो भनेका थिए ।

 

त्यतिबेलाका चार वटा महत्वपूर्ण पदहरु मध्ये माओवादीले अख्तियार पाएको थियो भागबन्डामा । लडाकु शिविरको घोटालाबाट जोगिने आशमा लोकमानलाई अख्तियारमा लगियो । निर्वाचन आयुक्त, लोकसेवा र महालेखा परीक्षकको पद भागबण्डा गरिएको थियो । 

 

आफू अनुकुल हुँदा निरन्तरता दिने, प्रतिकूल हुँदा हटाउने चलन छ । लोकमानले आफूलाई जोगाउने ठानेर प्रमुख आयुक्त बनाए । पछि सबैलाई लोकमानले जाक्ने सुइको पाएपछि गलहत्याए । आफूअनुकूल फैसला नगर्ने देखेपछि शेरबहादुरले सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता गरे । दीपकराज जोशीले पनि आफूअनुकूल फैसला नगर्ने छनक देखेपछि वर्तमान शासकले उनलाई आउनै नदिने प्रपञ्च रचे । कुरा यति नै हो । 

 


अझ खतरा त भविष्यमा यदि अर्को सरकार बन्यो र अर्को व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने बेलायस्तै नियति दोहोरिने छ । दीपकराज जोशीप्रति त मेरो सहानुभूति छ । 

...
प्रधानमन्त्री भइसकेका व्यक्ति मातृकाप्रसाद कोइराला युएनको स्थायी राजदूत भएर गए । कानुनमन्त्री भइसकेका अग्नि खरेल अहिले महान्यायधिवक्ता छन् । मुख्य सचिव भएका सोमलाल सुवेदी एडिबीको क्लर्क भएर गए । मुख्य सचिव भएका अर्का व्यक्ति लिलामणि पौडेल अहिले चीनका राजदूत छन्  । परराष्ट्रमन्त्री भइसकेका महेन्द्रबहादुर पाण्डेको नाम पनि चीनका लागि राजदूतहरु लिस्टमा थियो । मन्त्री भइसकेको व्यक्ति टिम्बर कर्पोरेसन अध्यक्ष भएको पाइन्छ । 

 


यो नकचरो प्रवृत्ति हो । नकचराको कुनै औषधि हुँदैन । 

 

मेनपावर व्यवसायी राजदूत भएर त्यो देशमा पुग्छ, जहाँ उ आफै चाहिँ ब्लाक लिस्टेड छ । यो देशमा के पाइन्छ के पाइँदैन भन्ने नै रहेन । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमै पनि यस्तै छ । त्यहाँ धेरै ठूलो धनराशी छ । गोविन्दराज पोख्रेल चार महिना सिइओ भएका थिए । चारै महिनामा चुनाव लड्ने पैसा कमाएछन् । उनी त जागिर छाडेर चुनाव लड्न गए । त्यसपछि रामचन्द्र पौडेलका सम्धी सिइयो भए । आफ्ना चौअन्नी कार्यकर्तालाई जागिर दिने, पैसा संकलन गर्ने, निर्वाचनमा लगाउने र जित्ने साधनको रुपमा प्राधिकरण रुपान्तरण भयो ।

 
प्राधिकरणको सिइओ आफ्नो हुनुपर्ने कारणले लक्ष्यित वर्गले केही पाएन । धुर्मुस सुन्तलीले बरु बनाए चार वटा एकीकृत वस्ती नै बसाए । 

...

नेपालमा जति बढी बेइमानी गरिन्छ, त्यति नै नाम चल्छ । त्रिबिका उपकुलपति डा. तीर्थ खनियाँमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप छ । उहाँ गोविन्दराज जोशीको साँढू हुनुहुन्छ । नाता नभइ त कुनै पनि पद पाइँदैन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अहिलेका रक्षामन्त्रीका सम्धी हुन् । गोविन्दराज पोख्रेल सुशील कोइरालाका भाइका साला हुन् । 

 


तीर्थ खनियाँले जसको सम्पत्ति चोरेका थिए, त्यो धनीले नेपाल सरकारलाई पत्र लेखेको थियो । पत्रमा एउटा बौद्धिक सम्पत्ति चोरलाई नेपाल सरकारले उपकुलपति जस्तो पदमा नियुक्त गर्दैन होला भन्ने विश्वास छ भनेको थियो । तर उनलाई नै सरकारले उपकुलपति बनाइदियो । 
 

प्रा. डा. सुरेन्द्र केसी

विशेष