सरकार र चिकित्सकको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने
काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा उत्रिएका चिकित्सक र सरकारबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा झण्डै पाँच घण्टा चलेको दुवै पक्षबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।
सरकारी टोलीले मुलुकी अपराध संहिता ऐन-२०७४ मा संशोधन गर्नुपर्ने बुँदा सिफारिस गरी कानून मन्त्रालयमा परिपत्र पठाउने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर चिकित्सकहरूले संसदमा संशोधन दर्ता नभएसम्म आन्दोलन फिर्ता नलिने अडान कायमै राखे ।
संशोधन प्रक्रिया शुरू नभएसम्म आन्दोलन जारी रहने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । मुलुकी अपराध संहिता ऐन- २०७४ मा इलाजसम्बन्धी कसुरमा संशोधनको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका हुन् ।
चिकित्सकहरूले सोमवार अस्पतालका प्रशासनिक काम बन्द गराएका छन् । उनीहरू नेपाल मेडिकल काउन्सिललाई आफ्नो प्रमाणपत्र समेत बुझाएर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले वार्तामा बोलाएको थियो ।
मंगलबार आकस्मिक बाहेक अन्तरंग सेवामा बिरामी भर्ना नगर्ने, २० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने घोषणा संघले गरेको छ ।
चिकित्सक र सरकारबीच वार्ता नयाँ मुलुकी ऐन चिकित्सक आन्दोलन