मुख्य समाचार

पूर्व-पश्चिम रेलमार्ग सञ्चालनमा ल्याउने तयारी हुँदैछ- अर्थमन्त्री खतिवडा

पूर्व-पश्चिम रेलमार्ग सञ्चालनमा ल्याउने तयारी हुँदैछ- अर्थमन्त्री खतिवडा

राजविराज । अर्थमन्त्री डा. युवराज खतिवडाले तराई-मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

 

सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व-पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । 


रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।  पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उनको जोड थियो । 

 

कार्यक्रममा आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताए । 

 

यसैबीच अर्थमन्त्री डा खतिवडाले आजै सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रको निरीक्षण गरे । विद्युत्, पानी, सुरक्षालगायत आधारभूत पूर्वाधारसमेत नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रको निरीक्षण गरेका हुन् । 

 

निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गर्दै मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षा बलको व्यवस्था भए जस्तै सप्तरीमा पनि गर्न सकिने सुझाव दिए । -रासस
 

अर्थमन्त्री डा. युवराज खतिवडा सप्तरी तराई-मधेश

विशेष