खेल मुख्य समाचार

एशियाडमा पदक विजेता खेलाडीलाई जनही पाँच लाख

एशियाडमा पदक विजेता खेलाडीलाई जनही पाँच लाख

काठमाडौं । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई सोमबार काठमाडौंमा नगदसहित सम्मान गरिएको छ । 

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साेमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई पाँच लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई तीन लाख र सहायक प्रशिक्षकलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरे । 

 

इन्डोनेसियामा भएको १८ औं एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा तथा मुख्य प्रशिक्षकमा योगेश भट्टराई र सहायक प्रशिक्षक सानुबाबु श्रेष्ठ हुन् । 

 

त्यसैगरी रजत पदक दिलाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई रु पाँच लाख तथा खेल व्यवस्थापक शैलेश राउतलाई सम्ममानपत्रद्वारा सम्मान गरियो । सोही अवसरमा प्याराग्लाइडिङको महिलातर्फ छैटौँ स्थान हासिल गर्ने महिला खेलाडीलाई समेत मायाको चिनो प्रदान गरियो । 

 

सम्मानअघि खेलाडीलाई नगर परिक्रमा गराइएको थियो । इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा भएको एशियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाए पनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सफल भएको हो । 

 

कार्यक्रममा मन्त्री विश्वकर्माले एशियाडमा आशा गरिएका खेलबाट पदक ल्यउन नसेकोप्रति आलोचना गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्ने बताए । 

 

विकासका हिसाबले पछि परेका मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेल क्षेत्र शसक्त माध्य भएको बताउँदै उनले मुलुकको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापिपत गर्न नेपालको खेल क्षेत्रको विकास आवश्यक भएकोमा जोड दिए । 

 


प्याराग्लाइटिङ खेलको विकास गर्न पर्यटन मन्त्रालय र खेलकुद मन्त्रालयले योजना बनाइरहेको उनको भनाइ थियो । नेपाली खेलाडीले उचित प्रशिक्षण अझै प्राप्त गर्न नसेको बताउँदै उनले सरकारको ध्यान अब खेलाडीलाई उचित प्रशिक्षण उपलब्ध गराउनेतिर केन्द्रित हुने बताए । 

 

राखेप सदस्य-सचिव विष्टले नेपालको भूगोलको तुलनामा एसियाडमा समावेश भएको नेपाली खेलाडी संख्या धेरै भएको स्वीकार गर्दै नेपालमै हुने दक्षिण एसियाली खेलकुदको तयारीका लागि पनि एशियाडमा धेरै खेलाडी सहभागी गराइएको बताए । 

 

उनले आगामी कात्तिक २५ देखि २९ गतेसम्म पोखरामा प्याराग्लाइडिङको वल्ड च्याम्पियनशीप आयोजना गर्न लागिएको जानकारी दिए । 

 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू सदस्य-सचिव भएका बेला खेल सङ्घको रुपमा दर्ता गरेको खेलले १८ औँ एशियाडमा नेपालको इज्जत राख्न सफल भएको बताए ।  

 

रजत पदक दिलाउने टोलीका प्रमुख विमल अधिकारी, नेपाल प्याराग्लाइडिङ तथात ह्याण्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले खेलका लागि चाहिने आधुनिक ग्लाइडर सरकारले किनिदिए नेपालले विश्वका जुनसुकै खेलाडीलाई जित्न सक्ने दाबी गरे। 

एशियाली खेलकुद प्याराग्लाइडिङ इन्डोनेशिया

विशेष