कभर स्टोरी भिडियो

नेताहरुको भोग बिलासले संघीयता असफल हुँदैछ, दोष चित्रबहादुर केसीलाई लाग्छ  

नेताहरुको भोग बिलासले संघीयता असफल हुँदैछ, दोष चित्रबहादुर केसीलाई लाग्छ  

काठमाडौं । प्रा.डा. सुरेन्द्र केसीले नेपालमा आजको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’मा यसपटक वर्तमान सरकारको व्यवहार र नीतिबारे चिरफार गर्नुभएको छ । जनताको बहुदलीय जनवादमा विश्वास राख्ने केपी ओलीको व्यवहार नीतिबमोजिमको हुन नसकेको उहाँको टिप्पणी छ । डा. केसीले अन्तर्वार्ताका क्रममा व्यक्त गर्नु भएको विचारहरु निम्नानुसार छन्ः 

‘एउटा बाल गुरिल्लालाई विमानस्थलबाट घिसारेर विदेश जान नदिने भनेको गृहमन्त्री हुन् भनिएको छ । गृहमन्त्री बादलले माओवादीको पूर्वबाल गुरिल्लालाई थाइल्याण्ड जान नदिएको खबर बाहिरिएको थियो । त्यसअघि संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई प्रधानमन्त्री ओलीले विमानस्थलबाट अघोषित रुपमा नियन्त्रणमा लिएर बालुवाटारस्थि प्रधानमन्त्रीको क्वाटरमा १ घण्टा हिरासतमा राखेका थिए । आफूले उपकूलपतिलाई १ घण्टा हिरासतमा राख्ने अनि गुरिल्लालाई विदेश जानबाट रोक्ने गृहमन्त्रीसँग जवाफ माग्ने ओलीको शैली आपसमा मेल खाँदैनन् ।

 

आफूलाई मन नपरेको प्रश्न सोधेको भरमा एक पत्रकारलाई सञ्चारमन्त्रीले जागिरबाट निकालिदिए भन्ने छ । कानुनमन्त्रीले गैरजिम्मेवारीपूर्ण बोलीका कारण जागिरबाट हात धुनु पर्यो । 

 

कञ्चनपुरकै बालिका बलात्कार र हत्याको घटना हेर्दा, त्यहाँ सुरुमा प्रतिपक्षी दल पनि विरोधमा उत्रियो । तर जब समाज हत्याराको नजिक नजिक पुग्दै थियो, तब प्रतिपक्षीले पनि आन्दोलन स्थगित गरिदिए । प्रधानमन्त्री आफैले कञ्चनपुरको प्रकरणमा प्रहरीको मात्रै भर पर्दा गल्ति भयो भन्ने आसयका अभिव्यक्ति दिएका छन् । यसबाट अब जनताले के बुझ्ने ? 

 

प्रधानमन्त्रीलाई स्वार्थी र गलत मान्छेले घेरेका छन् । उहाँको शासन शैली ठिक छैन । प्रधानमन्त्रीले द्वन्द्वकालमा सेनाका अधिकृतहरुले खेलेको भूमिकामा प्रश्न उठाईरहनु भएको छ । अर्कोतिर कञ्चनपुरमा प्रहरीको भूमिकामा प्रश्न उठाइरहनु भएको छ । प्रधानमन्त्रीले प्रश्न उठाउने हो भने के जवाफ चाहिँ प्रतिपक्षीले दिनु पर्ने हो ? 

 

कञ्चनपुरको प्रकरणबाट के थाहा भयो भने यिनीहरुले निर्दोषलाई जेल पठाएर दोषीलाई सांसद मन्त्री बनाउने चलन नै रहेछ भन्ने देखियो । 

 

सरकारले काम राम्रो गर्न सकेको छैन । राम्रो काम गर्न नसकेपछि पत्रिकाका सम्पादकहरुलाई राम्रो खबर मात्रै छाप्न आग्रह प्रधानमन्त्रीले गरेका छन् । यो लाजमर्दो कुरा हो । 

 

करका बारेमा नकारात्मक हल्ला फैलिएको भनेर प्रधानमन्त्रीले खुब गुनासो गरेका छन् । तर जनताले कर बढी भयो भनेका होइनन् । बाख्रा बेच्दा पनि कर लिने, त्यो करबाट जनप्रतिनिधिले ४० लाखको स्करपियो किने भनेर जनता दुःखी भएका हुन् । केही गाउँपालिकामा मोटर गुड्ने सडक छैन । तर जनप्रतिनिधिले मोटरसाइकल, गाडी किनेका छन्, ससुरालीमा थन्क्याएका छन् ।

 

चिल्लो सडकमा यात्रा गर्न डेढ करोडको गाडी किन्ने पनि यिनै हुन् । जनप्रतिनिधिहरुको त्यो हर्कत जनताले मन नपराएका हुन् । नत्र कर तिर्नै पर्छ, आजसम्म जनताले तिरेका छन् नतिर्ने भन्ने कुरै होइन । जनताको दुःख नबुझ्ने तर विरोधीले हल्ला गरे भन्नुको के अर्थ ? 

 

मुलुक दण्डहिनता र अपराधिकरणतर्फ अगाडि बढिरहेको छ । डनहरुलाई नै सांसद मन्त्री बनाउने काम भइरहेको छ । सबै डनहरुको नाम लिन्न, फेरि मलाई नै इन्काउन्टर गरिदेला सरकारले । 

 

काठमाडौंका खाल्डाखुल्डी पुर्ने ठेक्केदारले काम गर्दैन । कारबाही गर्नु पर्नेको घरमा प्रचण्डको बास छ ।  

 

नेपालमा सरकारलाई मन नपर्ने कुरा गर्ने जो पनि प्रतिगामी हुन्छ । मैले सरकारको आलोचना गरेँ भने म पनि प्रतिगामी भइहाल्छु । 

राम्रो भन्दा नराम्रो काम गरेर गल्ति सच्याउने चलन छ । भक्तपुरमा फेक इन्काउन्टर गरेर प्रहरी बदनाम भयो । कञ्चनपुरमा फेक बलात्कारी उभ्याएर प्रहरी बदनाम भयो । यो त नेपाल प्रहरीको लागि राम्रो होइन । प्रहरीले आफ्नो असक्षमता ढाक्न यस्तो तरिका अपनायो । 

 

चित्रबहादुर केसीले पहिलेदेखि नै संघीयता राख्न हुँदैन भनेका थिए । संघीयता ठिक छैन भन्दा संघीयता विरोधी बनिन्छ । संघीयता असफल पार्न जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । अरुले संघीयता यो देशमा उपयुक्त छैन भनिदिँदा त्यही व्यक्ति संघीयता विरोधी प्रमाणित हुन्छ । 

 

मेयर र प्रमुखहरुको भोग बिलासले संघीयता असफल हुँदैछ, दोष चित्रबहादुर केसीलाई लाग्छ  । 

 

संघीयतालाई फोर्स ल्याण्डिङ गराउनुको विकल्प छैन । अरु उपाय पनि छैन । संघीयता कार्यान्वयन गराउनेहरुको शैली हेर्दा यो व्यवस्था हाम्रो लागि उपयुक्त छैनन् । संघीयताको संवेदनशीलतालाई बुझ्न नसक्नेहरुको हातमा देश पुग्यो । काम नलाग्ने पत्रुहरुले देश हाँकेकाहरुका कारण यस्तो भएको हो ।’
 

विशेष