मुख्य समाचार

सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि प्रकाण्डलाई भोजपुर किन लगियो ?

सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि प्रकाण्डलाई भोजपुर किन लगियो ?

भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई मंगलबार भोजपुर ल्याइएको छ । 

 

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट प्रकाण्डलाई विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा भोजपुर ल्याइएको हो । 

 

अहिले धनकुटा र भोजपुरको सिमाना कटाइएको र प्रकाण्डलाई प्रहरीले मध्यरातसम्म भोजपुर ल्याइपुर्याउने स्रोतले जनाएको छ । जिल्ला अदालत भोजपुरले तीनवटा मुद्धामा पक्राउ आदेश जारी गरेका कारण ‘प्रकाण्ड’ लाई अदालतमा उपस्थित गराउन भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

 

 प्रकाण्डविरुद्ध विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएर अदालतले वारेन्ट जारी गरेको कारण जिल्ला अदालत भोजपुरमा पेश गरिने छ । 

 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर सकेट बम विष्फोट गराइएको थियो । 

 

भोजपुरको तत्कालीन कोट गाविस र अहिलेको ट्याम्केमैयूम गाउँपालिका-६ मा रहेको गुम्बा डाँडामा गएको कात्तिक २८ गते विष्फोट गराइएको थियो ।

 

विष्फोटमा राईको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोभर जीप विष्फोटमा परेर क्षतिग्रस्त भएको थियो । 

 

यस अघि विप्लवलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।

प्रकाण्ड खड्गबहादुर विश्वकर्मा नेकपा

विशेष