मनोरञ्जन चाडै आउदैछ

‘ए मेरो हजुर ३’मा अनमोल केसीसँग झरना थापाकी छोरी खेल्दै

‘ए मेरो हजुर ३’मा अनमोल केसीसँग झरना थापाकी छोरी खेल्दै

नेपाली चलचित्र क्षेत्रमा अहिले सुपरस्टार अनमोल केसीको अब चाँडै नै सातौं प्रोजेक्ट ‘ए मेरो हजुर ३’ मा व्यस्त हुँदैछन् ।

 

केही दिनमा नै उनले वर्कशप ज्वाइन गर्दैछन् । यस चलचित्रमा उनको अपोजिटमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् ।

 

शनिवार उक्त नेपाली चलचित्रको पोखरामा शुभ मुहुर्त गरियो । अभिनेता अनमोल आफ्नो सांगीतिक कन्सर्ट ‘अनमोल इभ’ का लागि पोखरा पुगेको मौका छोप्दै फिल्मको मुहूर्त गरिएको थियो । शुभ साइतसँगै सो कन्सर्टमा फिल्मका लागि केही महत्वपूर्ण सिन पनि खिचिएको छ ।

कन्सर्टमा फिल्मको सुटिङ भइरहेको निकै कमलाई थाहा थियो । ५ हजार बढी दर्शक अनमोललाई हेर्न उपस्थित भएका थिए । स्टेज पछाडि मनिटरमा छोरी सुहाना र अनमोलको ‘एक्सप्रेसन’ हेर्न निर्देशक झरना व्यस्त थिइन् ।

 

छायाँकार सञ्जय लामाले ‘अनमोल अनमोल’ भन्दै फ्यानले हुटिङ गरेको माहौल खिचिरहेका थिए । हजारौं क्राउडको सबैभन्दा अगाडि सुहाना थिइन् । हातमा कालो रंगको ज्याकेट बोकेकी उनको छेउमा केही युवतीहरुले अनमोलको तस्बीर अंकित प्ले कार्ड लिएर चिच्याइरहेका थिए ।

 

यसअघि अनमोलको बुटवलमा पनि कन्सर्टमा भएको थियो । उनले पोखरामा भने ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ एकैपटक गरे । ‘ए मेरो हजुर ३’ मा आफ्नो भागको सिनका लागि पोखरा कन्सर्टमा उनी सर्लक्क कोरिएको कपाल, आकर्षक मेकअप र स्टाइलिस पहिरनमा स्टेज चढेका थिए ।

 

सुहानाले उक्त चलचिमा अनमोलको फ्यानको भूमिका निर्वाहा गरेकी छन् । एक चर्चित गायक र एक युवती फ्यानको प्रेमकथा चलचित्रले वाचन गर्ने बताइएको छ । फिल्ममा अनमोल ‘प्रेम’ को भूमिकामा छन् ।

अभिनेत्री बन्न लागेकी सुहानाको हातमा रहेको कालो ज्याकेटको पछाडि ‘प्रेम’ लेखिएको थियो । अनमोलले कन्सर्टमा आफ्नो प्रस्तुति दिँदै गर्दा उनले ज्याकेट उचाल्दै आफ्नो मनपर्ने स्टारप्रति प्रेम दर्शाएकी थिइन् ।

 

अभिनेत्री झरना थापाको दोस्रो निर्देशनमा बन्न लागेको ‘ए मेरो हजुर ३’ लाई उनका श्रीमान तथा निर्माता सुनिल कुमार थापाले निर्माण गर्देछन् । असोज पहिलो साताबाट औपचारिकरुपमा चलचित्रकोछायांकन सुरु हुँदैछ भने प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ ।

विशेष