खेल मुख्य समाचार

एसिया कप खेल्ने नेपालको सपना समाप्त, हङकङविरुद्ध सन्दिपले लिए पाँच विकेट 

एसिया कप खेल्ने नेपालको सपना समाप्त, हङकङविरुद्ध सन्दिपले लिए पाँच विकेट 

काठमाडौं । एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ । मंगलबार हङकङसँग ३ विकेटले पराजित भएसँगै एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको हो । 

 

ओमान र यूएईसँग लज्जास्पद हार बेहोरेको नेपालले त्यसपछिका २ खेल लगातार जितेको थियो । तर मंगलबार हङकङसँग भने नेपालको प्रदर्शन कमजोर रह्यो ।

 

टस जितेर ब्याटिङ रोजेको नेपाल ९५ रनमै समेटियो । मंगलबार पनि नेपालका ब्याट्सम्यान खुलेर चल्न सकेनन् । प्रारम्भीक ब्याट्सम्यान सुबास खकुरेल पहिलो ओभरमै आउट भएपछि विकेट पतन रोकिएन । सुवास आउट भएको केही समयमा नै कप्तान पारस खड्का १४ रन बनाउँदै पवेलियन फर्किए । 

 

सिंगापुरविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्रसिंह ऐरी र आरिफ शेखको प्रदर्शन पनि कमजोर रह्यो । दिपेन्द्र २ र आरिफ १८ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल १२, अनिलकुमार शाह १५, सागर पुन ७ र सन्दिप लामिछाने २ रन बनाएर आउट भए । 

 

यस्तै, नेपालका तीन खेलाडीले खाता नै खोल्न सकेनन् । आज सुवास, सोमपाल र ललितनारायण राजवंशी शून्य रनमा आउट भए । बसन्त रेग्मी १५ रनमा नटआउट रहे । 

 

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका बलर इशान खान घातक भए । उनले ७.५ ओभर बलिङ गर्दै ४ विकेट लिएर मात्र १५ रन खर्च गरे । 

 

हङकङको जितमा अन्सुमान रथले सर्वाधिक ५२ रन बनाए । नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र बसन्त रेग्मीले १-१ विकेट लिए ।

 

आजको खेलमा जित हात पारे पनि हङकङलाई फाइनल पुग्न ओमान र यूएईको बीचको खेलको नतिजा कुर्नु पर्ने भएको छ । यूएई विजयी भए हङकङ फाइनलमा पुग्ने छ । उपाधि विजेताले १५ सेप्टेम्बर देखि सुरु हुने एसिया कपमा स्थान बनाउने छ । 

नेपाल भर्सेस हङकङ एसिया कप

विशेष